आउँदो २०७८ सालमा राष्ट्रिय कृषि गणना पनि हुने

भक्तपुर न्यूज

१० चैत २०७७ ८:४२

आउँदो २०७८ सालमा राष्ट्रिय कृषि गणना पनि हुने

काठमाडौं । प्रत्येक १० वर्षमा केन्द्रीय तथ्याङ्क विभागद्वारा हुने राष्ट्रिय कृषि गणना आउँदो २०७८ सालमा हुने भएको छ । आउँदो सालमा तराईमा पुसदेखि फागुनसम्म र हिमाली जिल्लामा आउँदो २०७९ को वैशाखदेखि असारसम्म जनगणना हुने बताइएको छ ।

जिल्ला तथ्याङ्क कार्यालय मकवानपुरद्वारा सो गणनाका तयारी सम्बन्धमा सरोकारवालाहरुसँग आज हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । सो कार्यालयका प्रमुख राजेश दासले कृषि गणनाको उद्देश्य, गणना विधि, कृषिमा पर्ने प्रभाव, कृषिको चलनचल्ती, कृषिबाट हुने उत्पादन, आम्दानी, लगाइने बाली, ढुवानी, बजार व्यवस्था, बिक्री तथा भोग्नुपर्ने समस्यालगायत विषयमा गणना गरिने जानकारी दिए ।

एफएओ र डब्लुपिसिएको मार्ग दशर्नका आधारमा गरिने सो गणनामा तीन लाख २५ हजारदेखि तीन लाख ५० हजार कृषक परिवारबाट प्रत्यक्ष अन्तर्वार्ता गरी तथ्याङ्क सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक लीला मिश्रले बताए ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कृषि गणना जनताको रोजीरोटीसँग जोडिएकाले यो अत्यन्त निष्पक्ष एवम् विश्वसनीय हुनुपर्ने बताए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पनि तथ्याङ्क हचुवाका आधारमा होइन सही सूचकका आधारमा सङ्कलन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः २०७७ चैत १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय