दक्षिण कोरियामा सन् २०२० मा जन्मदर भन्दा मृत्युदर बढी

भक्तपुर न्यूज

२० पुष २०७७ १०:०३

दक्षिण कोरियामा सन् २०२० मा जन्मदर भन्दा मृत्युदर बढी

काठमाडौं । दक्षिण कोरियामा पछिल्ला वर्षमा जन्मदरभन्दा मृत्युदर बढी देखिन थालेको छ । सन् २०२० मा त यो सबैभन्दा बढी चिन्ताजनक विषय भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

दक्षिण कोरियामा सन् २०२० मा २ लाख ७५ हजार ८ सय बालबालिकाको जन्म भएको थियो । यो सन् २०१९ भन्दा १० प्रतिशतले कम हो । यही वर्ष दक्षिण कोरियामा ३ लाख ७ हजार ७ सय ६४ जनाले ज्यान गुमाएको बुझिएको छ ।

यसका कारण अब त्यहाँको सरकारले केही आधारभूत नीतिहरुमा परिवर्तन ल्याउन सक्ने मानिएको छ । घट्दो जनसंख्याका कारण दक्षिण कोरियामा थप समस्या हुनसक्ने चेतावनी पनि दिइएको छ । यसले दक्षिण कोरियाको अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्ने भएको भन्दै चेतावनी दिन थालिएको हो ।

गत महिनामात्र त्यहाँका राष्ट्रपति मुन जाए–इनले विभिन्न नीति तथा कार्यक्रमहरु ल्याएर जनसंख्यालाई वृद्धि गर्ने अभियान सुरु गरिसकेको दक्षिण कोरियाली सन्चारमाध्यमले जनाएका छन् ।

यो नयाँ नीतिमध्ये अब दक्षिण कोरियामा सन् २०२२ बाट जन्मने सबै बालबालिकाले २ लाख वोन (झन्डै २ लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् । सन् २०२५ मा यो रकम बढाएर पाँच लाख वोन पुर्‍याइनेछ । जानकारहरुका अनुसार दक्षिण कोरियामा बच्चा हुर्काउनु पनि निकै खर्चिलो काम हो ।

अहिले सरकारले घोषणा गरेको सहयोगको रकमले पनि मानिसहरुमा बच्चा जन्माउने इच्छा नआउने जानकारहरुको भनाइ छ । पछिल्लो समय त्यहाँका आमाबाबुहरुले बालबालिकालाई हुर्काउन निकै मेहनेत गर्नु परेको भन्दै आफूहरुले नयाँ बच्चा नजन्माएको बताउन थालेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७७ पौष २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय