निर्वाचनको वातावरण बनाउन दलहरुलाई उपराष्टपति पुनको आग्रह
काठमाडौं, १ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले २०७४ माघ ७ गतेभित्रै तीनवटै तहको निर्वाचन गर्ने गरी बातावरण बनाउन सबै दलहरुलाई आग्रह गरेका छन् ।
माघेसङ्क्रान्ति पर्वका अवसरमा नेपाल मगर सङ्घ तनहुँद्वारा दमौलीमा आयोजना गरिएको छैठौँ तनहुँ महोत्सवको आज उद्घाटन गर्दै उनले निर्वाचनको उपयुक्त वातावरण तयार गर्न दलहरुलाई आग्रह गरेका हुन् ।
उपराष्ट्रपति पुनले यसका लागि दलहरुबीचमा रहेको सम्पूर्ण असमझदारी हटाउनु पर्नेमा जोड दिँदै असमझदारी हटाएर संविधान कार्यान्वयनमा लाग्न दलहरुलाई आग्रह गरे ।
उपराष्ट्रपति पुनले जनआन्दोलन जस्ता हरेक आन्दोलनमा मगर समुदायले र्पुयाएको योगदान राष्ट्रले कहिल्यै बिर्सन नसक्ने समेत उल्लेख गरे ।
नेपाल बहुजातिक, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक भएकाले सबै जातजाति, भाषाभाषी एकआपसमा मिलेर बस्नु यहाँको उच्चतम विशेषता रहेको भन्दै उनले निर्वाचनपछि संविधान कार्यान्वयनमा सहयोग पुग्ने र देश समृद्धिको बाटोतर्फ अगाडि बढ्ने बताए ।