काठमाडौं । जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चेनग्लादबाखका फरवार्ड मार्कस थुर्रामलाई ६ खेलको प्रतिबन्ध लगाइएको छ। लिग खेलमा होफेनहाइमका डिफेन्डर स्टेफन पोस्चको मुखमा थुकेका कारण मार्कसलाई ६ खेलको प्रतिबन्ध लगाइएको हो।
२३ वर्षका मार्कसले खेलको ७८औँ मिनेटमा खेल भावनाविपरीत अनुशासन तोडेका थिए। खेलमा मोन्चेनग्लादबाख २-१ ले पराजित हुन पुगेको थियो। भिडियो रिभ्यू गरेर हेर्दा मार्कसले स्टेफनको मुखमा थुकेको देखिएको थियो। जसपछि उनलाई सिधा रातो कार्ड देखाएर मैदानबाहिर पठाइएको थियो।
घटनापछि क्लबले समेत मार्कसलाई एक महिनाको तलब जरिवाना लगाएको छ। उनको जरिवाना १ लाख ५० हजार युरोसम्म पुग्न सक्नेसमेत बताइएको छ। जुन रकम सामाजिक कार्यमा खर्च गरिने बिबिसीले उल्लेख गरेको छ।
घटनापछि मार्कसले आफूले गलत काम गरेको स्वीकार गर्दै माफी मागिसकेका छन्। ‘यो मेरो स्वभावअनुसारको काम होइन, यस्तो कहिल्यै भएको पनि थिएन। मैले गलत तरिकाले विपक्षीसँग व्यवहार गरेँ। त्यो एक्कासी भएको घटना हो, सोचेर गरेको होइन, त्यसमा म सबैसँग माफी माग्दछु’ उनले भनेका छन्।
प्रकाशित मितिः २०७७ पौष ०७ मंगलबार
Comments