युद्धका लागि तयार हुन विप्लवको उर्दी
काठमाडौं, २९ पुस । नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले युद्धका तयार रहन आफ्ना कार्यकर्तालाई आह्वान गरेका छन् ।
दाङमा सम्पन्न नेकपा माओवादीको पहिलो राष्ट्रिय सम्मेलनमा विप्लवले यस्तो बताएका हुन । तत्काल क्रान्तिको अपरिहार्यता रहेको निचोड निकाल्दै वैद्यबाट अलग भई गरिएको सम्मेलनमा पेश गरिएको राजनीतिक दस्तावेजमा फौजी रणनीति बारे स्पष्ट कार्यदिशा उल्लेख गरिएको नभएको भए पनि नेताहरुले युद्धका लागि तयार रहन कार्यकर्ताहरुलाई उर्दी जारी गरेका छन् ।
‘फौजी रणनीतिबारे अहिले नै सवै कुरा सार्वजनिक गरिनु उचित हुँदैन, सम्मेलनमा विप्लवले कार्यकर्ताहरुलाई भने, तपाईँहरु युद्धका लागि सेना बन्न तयार भएर बस्नुस्, छिट्टै सेना कार्यक्रम आउँछ ।
एकीकृत क्रान्तिको सिद्धान्तअघि सारेका विप्लवले विश्व क्रान्तिको पाठ सिकेर भूगोल सापेक्ष संघर्ष गर्नुपर्ने बताएका छन् । पुरानो तरिकाले नभई नयाँ तरिकाले क्रान्ति सम्पन्न गर्ने भन्दै कार्यकर्ताहरुलाई विश्वस्त पारेका छन् । मुलुकमा संक्रमणकालसँगै भ्रष्ट्राचार मौलाउँदै गएको भन्दै माओवादीले भ्रष्टाचारीलाई कारवाही गर्ने जनाएका छन् । तत्काल भ्रष्ट्रहरुको सूची तयार गर्ने र कारवाहीको योजना अघि सार्ने उनीहरुले जनाएका छन् ।
भ्रष्टाचारीलाई कस्तो कारवाही गर्ने भन्ने खुलाइएको छैन । भ्रष्टाचारीको सूची भने जिल्लादेखि केन्द्रसम्मको निकाल्ने जनाइएको छ । सम्मेलनमा विप्लव माओवादीले हरेक सरकारी निकायमा स्थानीय तहदेखि माथिसम्म आफ्नो पार्टीलाई आधा हिस्सा साझेदारी गर्नु पर्ने माग समेत गरेको छ । माओवादीको मागमा सेना, प्रहरी, अदालत देखि सबै सरकारी निकायमा ५० प्रतशित हिस्सा दिनुपर्ने उल्लेख छ ।