भिटामिन डीको अभावमा यस्ता संकेत
काठमाडौं । शरीरका विभिन्न कार्य गर्नका लागि एक विशेष मात्रामा शरीरमा भिटामिन डीको आवश्यक पर्छ । ‘भिटामिन डी’को सबैभन्दा ठूलो स्रोत सूर्यको प्रकाश हो । छालामा घामको प्रकाश पर्दा यसले कोलेस्ट्रोलबाट भिटामिन डी बनाउँछ । शरीरमा क्याल्सियम र फास्फेटको अवशोषणका लागि यो एकदम महत्वपूर्ण छ । साथै, यसले दाँत र हड्डी बलियो राख्न मद्दत गर्छ । सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भए पनि विश्वभरका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ ।
छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो । भिटामिन डीको कमीले हड्डी तथा मांसपेशी कमजोर हुने, रिकेट्स र अस्टियोपोरोसिस जस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्छ । खानाबाट पर्याप्त पोषक प्राप्त गर्न नसक्ने हुँदा भिटामिन डीको अधिकतम् मात्रा प्राप्त गर्न घाममा बस्न नै आवश्यक हुन्छ ।
घरभित्र धेरै बस्ने, कालो छाला हुने, वृद्धवृद्धा, अधिक तौल भएको वा मोटो मानिस, धेरै माछा वा डेरी पदार्थको सेवन नगर्ने, सूर्यको प्रकाश कम हुने ठाउँमा बस्ने, बाहिर जानुअघि जहिले पनि सनस्क्रिन प्रयोग गर्ने मानिसमा भिटामिन डीको कमी हुने सामान्य कारण हुन् । भिटामिन डीले प्रतिरक्षा प्रकार्यमा महत्वपूर्ण भूमिका खेल्छ । बिरामी वा संक्रमणको जोखिम बढ्नु यसको अभाव हुँदा देखिने सबैभन्दा सामान्य लक्षणमध्ये एक हो ।
अत्यधिक थकान र अल्छी लाग्नु भिटामिन डीको कमीको संकेत हुन सक्छ । भिटामिन डीको कम स्तरले हड्डी तथा माशंपेशीको दुखाइ र तल्लो ढाडको दुखाइमा कारण हुन सक्छ । हड्डी कमजोर हुनु पनि भिटामिन डीको कमीको संकेत हुन सक्छ । उमेर बढ्दै जाँदा भिटामिन डीको पर्याप्त मात्रा हड्डीको मास संरक्षणको लागि महत्वपूर्ण हुन्छ ।
भिटामिन डीको कम स्तरले मुड खराब बनाउने गर्छ र डिप्रेसनको कारणसमेत बन्न सक्छ । अपर्याप्त भिटामिन डीको स्तरले गर्दा शल्यक्रिया, चोटपटक वा संक्रमणपछि भएको घाउ निको हुन समय लाग्न सक्छ । कपाल झर्नु पनि भिटामिन डीको कमीको संकेत हुन सक्छ । भिटामिन डीको कमीलाई सामान्यतया सजिलैरुपले उपचार गर्न सकिन्छ ।
घाममा बस्ने समय बढाउने, माछा वा डेरी उत्पादनलगायतका अधिक भिटामिन डी–समृद्ध खाद्य पदार्थको सेवनले भिटामिन डीको कमी हटाउन सक्छ । साथै, डाक्टरको परामर्श लिएर भिटामिन डी पूरक पनि लिन सकिन्छ ।
प्रकाशित मितिः २०७७ मंसिर २३ मंगलबार