थापा र गच्छदारसहित सरकार विस्तार हुँदै

भक्तपुर न्यूज

२८ पुष २०७३ ४:३७

थापा र गच्छदारसहित सरकार विस्तार हुँदै

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक पारित गराउन पनि प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको रणनीतिमा लागेका हुन् । प्रचण्डले युएईको चारदिने भ्रमणअघि नै थापा र गच्छदारलाई मन्त्री बनाउन लागेका छन् । प्रचण्ड १ माघमा हुने अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा भाग लिन युएईको आबुधाबीतर्फ जाँदै छन् ।
प्रधानमन्त्री प्रचण्डले राप्रपा अध्यक्ष थापासँग २६ पुसमा र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसँग २५ पुसमा छलफल गरेका थिए । प्रचण्ड राप्रपाका थप मन्त्री बनाएर र फोरम लोकतान्त्रिकलाई पनि समेटेर सरकार बलियो बनाउने योजनामा छन् । कांग्रेसले मन्त्रिपरिषद् विस्तार गर्न सकिने बताए पनि अहिले आफ्नो भागमा परेका मन्त्रालय छाड्न चाहेको छैन । राप्रपा अध्यक्ष कमल थापालाई नभएर नेता दिलनाथ गिरीको नेतृत्व गराएमा सहज हुने कांग्रेसको भनाइ छ । यसो गर्दा अहिले प्रधानमन्त्रीसँग रहेका मन्त्रालयमा राप्रपालाई मनाउन सकिन्छ भन्नेमा कांग्रेस छ ।
सत्ता गठबन्धनको सहमतिअनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा राप्रपा अध्यक्ष कमल थापालाई समेट्ने, तर अहिले गिरीलाई नै सरकारमा सहभागी गराउन कांग्रेसले राप्रपासँग छलफल गरेको छ । परराष्ट्र मन्त्रालय छाड्नुपर्ने भएकाले कांग्रेसले थापालाई सरकारमा सहभागी गराउन नचाहेको हो ।
थापा र गच्छदार सहभागी भए संशोधन विधेयक पारित हुने बुझाइ
प्रधानमन्त्री प्रचण्ड ३७ सिट रहेको राप्रपा र १४ सिट रहेको फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउँदा संविधान संशोधन विधेयक पारित हुन बल पुग्ने बुझाइमा छन् । एमालेसहितका विपक्षी नौ दलले विधेयक पारित हुनै नदिने रणनीति अपनाएपछि सरकारले मन्त्रिपरिषद् विस्तार गरेर जाने रणनीति बनाएको हो । राप्रपा र फोरम लोकतान्त्रिकले संशोधनमा खुलेर समर्थन नगरेकाले संशोधनमा समर्थन लिन मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो ।
दुई राप्रपा एक नभएको अवस्थामा वाणिज्य र भूमिसुधार मन्त्रालय लिएर राप्रपाको एक पक्ष सरकारमा गएको थियो । तर, राप्रपा र राप्रपा नेपालबीच एकीकरणपछि संसद्मा बलियो शक्ति बनेको छ । अब मन्त्रालय लिँदा दुवै पक्षका नेताहरू सरकारमा सहभागी हुनुपर्ने दबाब नेतृत्वलाई छ । यो अप्ठ्यारो हल गर्न र संविधान संशोधनमा समर्थन खोज्न प्रधानमन्त्रीले राप्रपालाई थप मन्त्रालय दिएर सरकारमा सहभागी गराउन चाहेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *