काठमाडौं । अर्जेन्टिनाका पूर्व कप्तान तथा चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । हृदयघातको कारण म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो ।
मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरि दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्याराडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् ।
म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । अर्जेन्टिनाका लागि म्याराडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।
सन् २००८ देखि २०१० को विश्वकपसम्म म्याराडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए । म्याराडोनाले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभिया जस्ता युरोपका ठुला क्लबबाट खेलेका थिए ।
म्याराडोना करिअरको अन्त्यतिर भने लागूऔषधको दुर्व्यसनमा फसेका थिए । लागूऔषध प्रयोगकै कारण उनी पटक पटक जेल समेत परे । उनी कोकिन सेवन गर्ने गर्थे । सन् १९९१ मा उनले १५ महिनाको प्रतिबन्ध समेत भोगेका थिए । म्याराडोना लागूऔषध दुर्व्यसनबाट मुक्त हुनका लागि क्युवाको रिह्याब सेन्टरमा समेत बसेका थिए ।
प्रकाशित मितिः २०७७ मंसिर ११ बिहिबार
Comments