चर्चित युट्युबरलाई कंगनाले दिइन् धम्की, भनिन्– जेल पठाइदिन सक्छु
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतले भारतका चर्चित यूट्युबर ध्रुव राठीलाई जेल पठाइदिने धम्की दिएकी छन् ।
उनले राठीको नाम नलिइकनै पत्रकार तथा फिल्म निर्माता एरे क्याथेरको ट्वीटलाई रिट्वीट गर्दै लेखिन्, ‘हाहा । गजब, एरे । साँच्चै यस बेवकूफलाई झूटो भिडियो बनाउनका लागि पैसा दिने गरिन्छ । बीएमसीको नोटिसको झूटो खबर फैलाएको आरोपमा म उसलाई जेल पठाउन सक्छु । त्यस भिडियोका लागि उसलाई ६० लाख भारु दिइयो । सरकारको समर्थन वा पैसाविना कसैले पनि कानूनी विषयमा कसरी खुलेर झूटो बोल्न सक्छ र ?’
सुशान्त सिंह राजपूतको मृत्युका विषयमा उनको परिवारको भूमिकाको पर्दाफास गर्न ठूलै यूट्युबरलाई ६५ लाख भारु दिइएको आरोप क्याथेरले लगाएका थिए । त्यही यूट्युबरलाई कंगना रनावत र अर्णव गोस्वामीविरुद्ध भिडियो बनाउन पैसा दिइएको थियो, उनले भने ।
क्याथेरले ट्वीटमा कसैको पनि नाम लिएका थिएनन् तर ध्रुव राठीले यो आफूलाई नै भनेको मान्दै ट्वीट गरे । त्यसपछि क्याथेरले राठीको आलोचना गर्ने मौका पाए ।
प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार
