काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारत उत्तराखण्ड देहरादुनमा कुटिएका विद्यार्थीलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति निकालेर देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीको अविलम्ब उद्दार गर्न सरकारसँग आग्रह गरेका हुन् ।
विद्यार्थी कुटिएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने कांग्रेसको भनाइ छ ।
प्रवक्ता शर्माले आज विज्ञप्तिमार्फत एकाअर्का देशका विभिन्न शहरमा अध्यनरत नेपाल र भारत दुवै देशका विद्यार्थीले सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै नभई त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारको भएको औँल्याएका छन् ।
उनले नेपाली विद्यार्थीको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहीँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकारसमक्ष माग गरे ।
प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार
Comments