नौ दलको शक्ति प्रदर्शन आज
काठमाडौं, २२ पुस । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा रहेको एमाले सहितका प्रतिपक्षी दलले आज राजधानीमा बृहत विरोध प्रदर्शन गर्दैछन् । असन्तुष्ट पक्षको माग सम्बोधनका लागि भन्दै सरकारले संसद सचिवालयमा दर्ता गराएको संशोधन विधेयक फिर्ता लिनुपर्ने माग राख्दै एमाले सहित विपक्षी ९ दलको संयुक्त आयोजनामा विरोध प्रदर्शन हुन लागेको होसंशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै फिर्ता लिन माग गर्दै आएका विपक्षी दलहरुको संयुक्त आयोजनामा भृकुटी मण्डवमा सभा गर्ने तयारी छ । दिउँसो एक बजे रत्नपार्कबाट सुरु हुने जनप्रदर्शन अघि उपत्यकाका विभिन्न ४० वटा स्थानबाट निकालिएको जुलुस रत्नपार्क पुगेर एकिकृत जुलुसमा परिणत हुने जनाइएको छ ।
एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड, भोटाहिटी, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सभालाई प्रमुख प्रतिपक्षी दल एमाले ,नेकपा (माले), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, मधेश समता पार्टी दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रदर्शनलाई व्यवस्थित बनाउनका लागि पाँच सय स्वयंसेवक परिचालन हुने जनाएको छ ।