काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै च्याम्पियन्स लिग अन्तर्गत अर्को हप्ता हुने बार्सिलोनाविरुद्धको खेल गुमाउने शंका बढेको छ।
अन्तर्राष्ट्रिय फुटबलका लागि पोर्चुगलको टोलीसँग रहेका रोनाल्डो नतिजा पोजिटिभ आएसँगै सेल्फ-आइसोलेसनमा बसेका छन्। र, इटालीका क्वारेन्टाइन सम्बन्धि नयाँ नियम अनुसार कम्तिमा १० दिन आइसोलेसनमा बस्नुपर्छ।
र, यो नियमका कारण उनले अक्टोबर २९ मा हुने बार्सिलोनाविरुद्धको खेल गुमाउने शंका उत्पन्न भएको छ। वर्तमान फुटबल जगतका दुई महान् खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका कप्तान लियोनेल मेसी।
रोनाल्डोले २०१८ मा रियाल मड्रिड छोडेसँगै यी दुई खेलाडी आमने(सामने भएका छैनन्। विश्व भरका फुटबल समर्थकलाई दुई भागमा विभाजन गर्ने यी दुई खेलाडी करिब तीन वर्षपछि आमने-सामने हुने भएका थिए।
तर, रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै समर्थकका लागि चिन्ताको विषय थपिएको छ।
पोर्चुगल फुटबल फेडेरेसन एफपीएफले ३५ वर्षीय फरवार्डलाई कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्दा नतिजा पोजिटिभ आएको घोषणा गरेको थियो।
नतिजा पोजिटिभ आएको भए पनि उनलाई हालसम्म कुनै पनि लक्षण नदेखिएको एफपीएफले बताएको थियो।
पोर्चुगलले बुधबार राति युइएफए नेसन्स लिगको समूह सीअन्तर्गत स्वीडेनको सामना गर्दैछ। एजेन्सी
प्रकाशित मितिः २०७७ असोज २८ बुधबार
Comments