संशोधन प्रस्तावबारे दलहरुले पुनर्बिचार गर्नुपर्छ : महामन्त्री कोइराला
कावासोती, २० पुस । नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले संविधान संशोधनको प्रस्तावबारेमा पुनः एक पटक दलले सोच्नुपर्ने बताएका छन् । संविधान जारी गर्दा संविधानसभाका ९० प्रतिशत सभासद्ले सहमति जनाएका थियौँ त्यत्ति बेला पनि सबै दल मिलेर जानुपर्छ भन्ने नै थियो उनले भने जनताको भावनामा खेलवाड गर्नु हुँदैन ।
नवलपरासीको गैँडाकोट नगरपालिकाको तेस्रो नगरपरिषद्को उद्घाटन समारोहमा आज उनले राजनीतिक स्थिरताका लागि वार्ता नै समस्याको समाधान भएको बताए । तीन तहको निर्वाचन गराउँदा मात्र संविधानको कार्यान्वयन हुने भएकाले चुनावमा केन्द्रित हुन आवश्यक भएको उनले औँल्याए। नवलपरासी क्षेत्र नं १ को विकासका लागि गैँडाकोटदेखि कोटथर बुलिङटार हुँदै दलदले निस्कने चक्रपथ र गैँडाकोट नगरभित्रको चक्रपथ निर्माणमा लागि परेको समेत उनले बताए । अत्याधिक दुर्घटना हुने भएकाले जिल्लामा एउटा राम्रो अस्पताल बनाउन समेत आवश्यक छ डा कोइरालाले भने, यहाँ बिपी कोइरालाको नाउँमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने सोचमा छु ।