काठमाडौं । नेदरल्यान्ड्स फुटबल टिमले आफ्नो मुख्य प्रशिक्षकको जिम्मेवारी फ्रान्क डी बोअरलाई दिएको छ । नेदरल्यान्ड्सले आफ्ना मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान स्पेनिस क्लब बार्सिलोनामा गएको करिब एक महिनापछि डी बोअरलाई नियुक्त गरेको हो ।
विश्व फुटबलमा सन् १९९० देखि २००० को दशकमा उत्कृष्ट डिफेन्डरको सूचीमा परेका डी बोअरलाई नेदरल्यान्ड्सले दुई वर्षका लागि प्रशिक्षकका लागि नियुक्ति गरेको हो । उनलाई सन् २०२२ को कतार विश्वकपसम्मका लागि नियुक्ति दिइएको हो ।
५० वर्षीय डी बोअर नेदरल्यान्ड्सका लागि उत्कृष्ट डिफेन्डरका रुपमा मानिन्छन् । उनले राष्ट्रिय टोलीका लागि ११२ खेल खेलेका छन् । त्यस्तै क्लब फुटबलमा आयाक्सका लागि सर्वाधिक ३२८ खेल खेल्दै ३० गोल गरेका छन् ।
डी बोअरले पछिल्लो समय एटलान्टा युनाइटेडका लागि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यस्तै आयाक्स, इन्टर मिलान र क्रिस्टल प्यालेसका लागि प्रशिक्षकको भूमिका निभाएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज ०८ बिहिबार
Comments