काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिचले युएस ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा स्थान बनाएका छन्।
सर्वियाका जोकोभिचले बेलायतका केली एडमन्डलाई ३-१ को सेटमा पराजित गरेका हुन्। जोकोभिच पहिलो सेटमा पराजित भए पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्न सफल भएका थिए।
पहिलो सेट ७-६ (७/५) ले गुमाएका जोकोभिचले बाँकी सेट ६-३, ६-४, ६-२ ले जितेका थिए।
१८औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेका जोकोभिचले अब तेस्रो चरणमा २८औं वरियाताका जन-लेनार्ड स्ट्रफसँग प्रतिस्पर्धा गर्नेछन्। जर्मनीका स्ट्रफले अमेरिकाका माइकल मोहलाई ६-२, ६-२, ७-५ को सेटमा पराजित गरेका थिए।
पाँचौं वरियाताका एलेक्जेन्डर जेरेभले पनि तेस्रो चरणमा स्थान बनाउन सफल भएका छन्। जर्मनीका जेरेभले अमेरिकाका ब्रान्डोन नाकाशीमालाई ७-५, ६-७ (८/१०), ६-३, ६-१ को सेटमा पराजित गरेका हुन्।
जेरेभले ३२औं वरियाताका एड्रिन मानारिनोसँग प्रतिस्पर्धा गर्नेछन्। फ्रान्सका मानारिनोले अमेरिकाका ज्याक सोकलाई ७-६ (७/५), ७-५, ६-२ को सेटमा पराजित गरेका थिए।
सातौं वरियाताका डेबिड गोफिनले दक्षिण अफ्रिकाका ल्योड ह्यारिसलाई ७-६ (८/६), ४-६, ६-१, ६-४ को सेटमा पराजित गरेका थिए। गोफिनले अब २६औं वरियाताप्राप्त फिलिप क्राजिनोभिचसँग प्रतिस्पर्धा गर्नेछन्। सर्वियाका क्राजिनोभिचले अमेरिकाका मार्कोस जिरोनलाई ६-४, ६-१, ६-३ को सेटमा हराएका हुन्। एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १८ बिहिबार
Comments