आजदेखि अनलाइनबाटै लाइसेन्सको फारम भर्न सकिने
काठमाडौं, १० पुस । सरकारले आजबाट सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को फारम अनलाइनबाट भर्न सकिने प्रणालीको औपचारिक सुरु गर्ने भएको छ । आज अपरान्ह ३ बजे देखि अनलाईन प्रणालीको सुरु गरिने यातायात व्यवस्था विभागले जनाएको छ । अनलाईन प्रणालीको आज उद्घाटन भए तापनि फारम संकलनको काम भने भोलिबाट मात्र अघि बढ्ने विभागले जनाएको छ ।
सेवाग्राहीको चापको व्यवस्थापन गर्न विभागले लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन संकलन गर्न सुरु गर्न लागेको विभागले जनाएको छ ।
अनलाइन फाराम यातायात व्यवस्था विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डीओटीएम डट जीओभी डट एनपी मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने छ । यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुु नपर्ने विभागले जनाएको छ ।
यस्तै विभागले पुस महिनाभित्रै काठमाडौंको कलंकी, चावहिल र भक्तपुरमा लाइसेन्सको लिखित परीक्षा तथा ट्रायल परीक्षा लिने गरी यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याउने तयारी गरिहेको छ।