भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउने कटहरका अनेकौं फाइदा
काठमाडौं । अंग्रेजीमा ज्याकफ्रुटको नामबाट चिनिने रुख कटहरलाई नपाक्दा तरकारी तथा पाकेपछि फलफूलको रूपमा खाने गरिन्छ । कटहरमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड, फाइबर, भिटामीन ए, भिटामी सी र विभिन्न भिटामीन बीहरू पाइन्छ ।
साथै कटहर पोटासियम, म्याग्नेसियम, म्याग्नेस, क्याल्सियम र फलाम जस्ता उपयोगी तत्वरुको पनि राम्रो स्रोत हो । कटहरलाई पकाउदा मासु जस्तै देखिने तथा स्वाद पनि केही हदसम्म मिल्ने भएको कारणले शाकाहारीहरूले मासुको विकल्प मानेर तरकारीको रूपमा प्रयोग गर्ने गर्छन् ।
यसमा पाइने भिटामिन ‘सी’, भिटामिन ‘बि ६’ र भिटामिन ए तथा एन्टीअक्सिडेन्टले छालालाई नरम र चम्किलो बनाउन मद्दत गर्छ । कटहरको नियमित सेवनले रोग प्रतिरोधी क्षमता वृद्धि गरी भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउने गर्छ ।
रुख कटहरमा पाइने आइरनले रक्त सञ्चारलाई बढाइ एनेमिया रोग लाग्नबाट बचाउनुका साथै उच्च रक्तचापलाई पनि कम गर्न मद्दत गर्छ । कटहरको सेवनले मुटु स्वस्थ रहने, पाचन प्रणाली सुदृढ हुने र खानेकुराहरू राम्ररी पच्ने गर्छ ।
कटहरको सेवन गरेपछि छिट्टै भोक नलाग्ने हुँदा खाद्यान्नको अभाव भएको अवस्थामा भोकमरीलाई कम गर्नका लागि एउटा राम्रो खाद्यस्रोत बन्न सक्ने देखिन्छ ।
कटहरको नियमित सेवनले आँखाको समस्या हटाउने, हड्डीहरू मजबुत बनाउने, थाईराइडको समस्या भएकाहरूको लागि उपयोगी हुनुका साथै कोष डीएनएहरूलाई नष्ट हुनबाट जोगाउने हुदा कटहरको सेवनले क्यान्सर लाग्ने सम्भावनाबाट बचाउने काम पनि गरिरहेको हुन्छ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १६ मंगलबार