रुसी कोरोना भ्याक्सिन २० वटा देशले किन्दै

भक्तपुर न्यूज

२८ साउन २०७७ ७:३८

रुसी कोरोना भ्याक्सिन २० वटा देशले किन्दै

काठमाडौं । रुसले बनाएको कोरोना भ्याक्सिन किन्न छिमेकी भारतलगायत अन्य २० मुलुकले रूचि देखाएका छन्। रुसी भ्याक्सिन ‘स्पुतनिक भी’बारे बनाइएको वेबसाइटमा यूएई, साउदी अरब, इन्डानेसिया, फिलिपिन्स, ब्राजिल, मेक्सिको तथा भारतले किन्ने चाहेको उल्लेख गरिएको छ।

रुसले यो भ्याक्सिनको २० करोड डोज बनाउने र तीन करोड रुसी जनताका लागि हुने बताइएको छ। रुसी कोरोना भ्याक्सिन परियोजनाको लागि कोष उपलब्ध गराउने संस्था ‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’का अनुसार यो भ्याक्सिनको उत्पादन भारत, दक्षिण कोरिया, ब्राजिल, साउदी अरब, टर्की र क्युबामा गरिने छ। भ्याक्सिनको तेस्रो परीक्षण साउदी अरब, यूएई, ब्राजिल, भारत र फिलिपिन्समा गरिने पनि जानकारी दिइएको छ।

भ्याक्सिन ठूलो परिमाणमा उत्पादन सेप्टेम्बर २०२० देखि शुरू हुने अपेक्षा गरिएको छ। यो वर्षको अन्त्यसम्ममा २० करोड डोज बनाउने योजना रहेको छ। उत्पादनको तीन करोड डोज रुसमै खपत गरिने छ। भ्याक्सिनप्रतिको विश्वासका लागि पुटिनकी छोरीले परीक्षणमा भाग लिएकी छन्। पहिलो चरणको भ्याक्सिनेसनपछि उनको शरीरको तापमान ३८ डिग्री सेल्सियस रहेको र अघिल्लो दिन ३७ डिग्री रहेको थियो। पछि तापमान सबै ठीक भएको थियो। अहिले उनले आफूलाई सहज महसुस गरेकी छन्।

पुटिनले भ्याक्सिन उत्पादनसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन्। उनले यसलाई दुनियाँका निम्ति महत्वपूर्ण कदम बताएका छन्। सबैले रुसी भ्याक्सिनलाई सहयोग गर्ने पनि उनले विश्वास व्यक्त गरे। रुसी भ्याक्सिनका विषयमा विश्व स्वास्थ्य संगठनका साथै अमेरिका, जर्मनीलगायतका मुलुकले आशंका जनाएका छन्। भ्याक्सिनको विश्वसनीयता मापन हुनुपर्ने र अन्तर्राष्ट्रिय मापदण्डमा खरो उत्रनु पर्ने उनीहरूको भनाइ छ। एजेन्सी

प्रकाशित मितिः २०७७ साउन २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय