भुइँकटहर खानुका धेरै छन् फाइदा, तर, यी व्यक्तिले खाँदा ध्यान दिनु पर्ने
काठमाडौं । गर्मी महिनामा पाइने भुइँकटहर खाँदा निकै स्वादिष्ट हुनुका साथै यसमा धेरै फाइदाहरू पनि रहेका छन् । भुइँकटहरु पोषक तत्वको भण्डार हो । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यस्तै, खनिजमा पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ । कम क्यालोरी हुने भुइँकटहर तौल घटाउन पनि उपयोगी मानिन्छ ।
भुइँकटहर भिटामिन ‘सी’को राम्रो स्रोत हो । यसले श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोगप्रतिरोधी क्षमता बढाउँछ जसले शरीरमा रोग लाग्न दिँदैन, घाउ चाँडो निको पार्छ र छालाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । फाइबरको राम्रो स्रोत भएको भुइँकटहरले पनि पाचन प्रणालीलाई दुरुस्त बनाएर ग्यास्ट्रिक हुन दिँदैन । नियमित भुइँकटहरको सेवनले कब्जियत, पखाला, रगत जम्ने समस्या र उच्च रक्तचापको समस्या हुन दिदैन ।
भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउँछ । दममा राहत दिन, प्रजनन क्षमतामा वृद्धि गर्न, दृष्टि सुधार गर्न, रक्त सञ्चालनमा सुधार गर्न, मृगौलाको पत्थरी निकाल्न मद्दत गर्न, मुटुको रक्षा गर्न तथा मुखको स्वास्थ्यका लागि भुइँकटहर फाइदाजनक हुन्छ । तर, चाहिनेभन्दा धेरै भुइँकटहर खाएमा बान्ता आउने, मुख र गाला सुन्निने, छालामा दाग आउने, पखाला लाग्ने, टाउको दुख्ने र रिँगटा लाग्ने जस्ता साइड इफेक्टहरू हुन सक्छ ।
भुइँकटहरमा भएको ब्रोमिलेन तत्वका कारण धेरै खाएमा दाँत कुँडिन सक्छ । मधुमेहका बिरामी, मिर्गौलाका बिरामी तथा गर्भवती महिलाल भुइँकटहर खाँदा ख्याल पु¥याउनु पर्ने हुन्छ ।
प्रकाशित मितिः २०७७ साउन २७ मंगलबार