काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई राखेप सदस्य सचिवमा पुनः नियुक्त गरेको हो ।
मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिलवाल सहित तीन जनाको नाम सदस्य सचिवमा सिफारिस गरेको थियो । समितिले सदस्य सचिवका लागि सिलवाल सहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो ।
सरकारले झण्डै एक बर्ष अघि सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो । तर राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै सदस्य सचिव पदको पद खारेज भएको थियो ।
पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट छनोट भएको सदस्य सचिवमा मन्त्रालयले सिलवालको नाम समावेश गर्दै मन्त्रीपरिषद्मा पेश गरेको थियो । यस्तै, बैठकले राखेपको उपाध्यक्ष शिव कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । पहिलो पटक मन्त्री परिषदबाट नियुक्त भएका उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवालको पदावधि ४ वर्षको रहनेछ ।
प्रकाशित मितिः २०७७ साउन १३ मंगलबार
Comments