माइक्रोवेभका खानेकुराले स्वास्थ्यलाई असर गर्दैन

भक्तपुर न्यूज

६ साउन २०७७ ०:५९

माइक्रोवेभका खानेकुराले स्वास्थ्यलाई असर गर्दैन

काठमाडौं। अचेल भान्सामा सबैभन्दा महत्वपूर्ण सामान बन्न पुगेको छ, माइक्रोवेभ। जो खाना पकाउन जान्दैन वा मेहनत गरेर पकाउन चाहँदैन, उसका लागि यो यन्त्र जीवनरक्षक बनेको छ।

माइक्रोवेभ ओभनमा पाकेका वा तातेका खानेकुराबारे बजारमा थुप्रैखाले भ्रान्तिपूर्ण कुरा सुन्न पाइन्छ। कोही भन्छन्, यसमा पाकेका खानेकुराले ग्यास्ट्रिकको समस्या हुन्छ। पेट बिग्रन्छ। खानेकुराको पोषकतत्व नष्ट हुन्छ। कतिपय मानिस त के भन्न थालेका छन् भने यसमा पाकेका खानेकुराले हार्मोनको सन्तुलन बिग्रन्छ।

तर, विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको अनुसन्धानले भने अर्कै तथ्य प्रस्तुत गरेको छ। उक्त संस्थाका अनुसार माइक्रोवेभमा पाकेका वा तताएका खानेकुराले मानव स्वास्थ्यमा कुनै हानि गर्दैन।

माइक्रो वेभमा खानेकुरा तात्न वा पाक्न कम समय लाग्ने भएकाले पौष्टिक तत्व कम नष्ट हुने अध्ययनले देखाएको छ। माइक्रोवेभमा काउली, सागसब्जीजस्ता तरकारी छिट्टै तताउन सकिन्छ। उसो त, परम्परागत तरिकामा पाकेको खानेकुराले मानव स्वास्थ्यमा कमभन्दा कम असर पर्छ।

तर, माइक्रो वेभमा खानेकुरा तताउँदा प्रयोग हुने प्लास्टिकको भाँडोले भने खराबी गर्न सक्छ। यसबाट निस्कने पोलिमरका कणहरूबाट हार्मोनमा असर गर्छ।

माइक्रोवेभमा प्रयोग हुने प्लास्टिको भाँडोबारे सचेत हुनु आवश्यक छ। यसले विशेषगरी बालबच्चा र ज्येष्ठ नागरिकमा बढी असर गर्छ। प्लास्टिक कन्टेनरमा बिस्फेनल नामक केमिकल अधिक हुन्छ, यसले हार्मोनको चक्रलाई बिथोल्छ।

हामीले माइक्रोवेभमा प्लास्टिकको सट्टा काँचका कन्टेनर प्रयोग गर्न सक्छौं। माइक्रोवेभमा खासगरी पाकिसकेका खानेकुरा तताउने गरिन्छ। यसरी तताउँदा ब्याक्टेरिया नष्ट हुन्छ। तर, कतिपय जानकारका अनुसार खानेकुरा दुई पटकभन्दा बढी तताउन हुँदैन। र, ८२ डिग्री सेल्सियस नघाउनु पनि हुँदैन।

माइक्रोवेभमा रेडियसन हुन्छ भन्ने कुरा पनि चर्चामा छ। तर माइक्रोवेभ रेडियसनबाट पूर्णरुपमा सुरक्षित हुने बताइन्छ। यसमा हल्का फ्रिक्वेन्सयुक्त चुम्बकीय किरणको प्रयोग हुन्छ। यो किरण स्वास्थ्यका लागि हानिकारक छैन।

विद्युतीय उपकरणबारे विभिन्न शोध कार्य चलिरहेका छन्, अनवरत् चली नै रहन्छन्। माइक्रोवेभमा खाना पकाउने र तताउनेबारे पनि चर्चा भई नै रहने छ। मुख्य कुरा कन्टेनर प्लास्टिकको होइन काँचको प्रयोग गर्न सक्दा लाभदायी हुन्छ।
बीबीसी

प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *