काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको अन्तिम खेलमा बार्सिलोनाले अति शानदार जित दर्ता गरेको छ। अवे मैदानमा भएको खेलमा बार्सिलोनाले एलाभेसलाई ५–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई तथा आन्सु फाती, लुइस स्वारेज र नेल्सन सेमेडोले एक–एक गोल गरे ।
फातीले २४ औँ मिनेटमा गोल गरी बार्सिलोनलाई सुरुवाति अग्रता दिलाए । मेस्सीले ३४ तथा स्वारेजले ४४ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता लियो । सेमेडोले ५७ तथा मेस्सीले ७५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ५–० ले विजयी भएको हो ।
यो खेलमा दुई गोल गरेका मेस्सी ला लिगाको यो सिजनमा सार्वधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका छन् । दोस्रो भएर लिग टुंग्याएको बार्सिलोनाको ८२ अंक भयो ।
ला लिगाका अन्तिम खेलमा एथ्लेटिको मड्रिड र रियल सोसिडाडले १–१ तथा स्पानियोल, ओसासुना र मार्लोकाले २–२ र सेल्टा डी भिगोले गोल रहित बराबरी खेले । यस्तै भिल्लारियलले एइबर तथा ग्रानाडाले एथ्लेटिको बिल्बाओलाई समान ४–० ले पराजित गरेका छन् ।
यसैगरी सेभिल्लाले भ्यालेन्सिया तथा लेभान्टेले गेटाफेलाई समान १–० ले पराजित गर्दा रियल भालाडोलिडले रियल बेटिसमाथि २–० को जित दर्ता गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ०५ सोमबार
Comments