युरिक एसिड हुँदा खाना पूरै बार्नु पर्दैन
काठमाडौं। युरिक एसिडको समस्या भएका बिरामीहरूले प्रायः मुख बारिरहेका हुन्छन् । रोगलाई निको पार्नका लागि मुख बार्नु पर्छ भन्ने सोच विकास भएका कारण तथा अरु मानिसहरूको कुरा सुनेर नै अधिकांश मानिसहरूले खाने कुराहरू बार्न थालेका हुन् ।
तर, युरिक एसिडको समस्या मात्रा नभएर अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूले खाना पूरै बार्नु पर्ने भन्ने बुझाइ गलत हो । स्वास्थ्यमा समस्या भएका व्यक्तिहरूले खानेकुरालाई पूर्ण रूपमा खान छोड्नुभन्दा पनि समय र मात्रा मिलाएर सन्तुलित तरिकाले खानु पर्छ ।
युरिक एसिड भएका व्यक्तिहरूलाई गेडागुडी, माछा, रातोमासु, काउलीजस्ता धेरै प्रोटिन भएको खानेकुराहरू खानु हुँदैन भन्ने मान्यता छ । शरीरलाई अन्य कार्यहरू गर्नका लागि प्रोटिन पनि आवश्यक चाहिन्छ ।
त्यसैले, धेरै प्रोटिन युक्त खानेकुराहरू खानै नहुनभन्दा पनि यस्ता खाने कुरालाई नियमित धेरै मात्रामा नखाई २ देखि ३ दिनमा एक पटक मात्रा मिलाएर खाएमा शरीरमा प्रोटिनको आपूर्ति पनि हुन्छ र यसले हानि पनि गर्न पाउँदैन ।
एकैचोटि धेरै खानेभन्दा पनि थोरै थोरै गरेर आफूले मनपर्ने खाने कुराहरू खान सकिन्छ । चिकित्सकको परामर्शअनुसार औषधिको नियमित प्रयोग गरेमा खानाहरू खानै छोड्नु पर्छ भन्ने हुदैन ।
युरिक एसिडको दर बढाउने खानेकुराको सेवन रोक्नुभन्दा पनि घटाउनु पर्छ । कति के मात्रामा खाने र कहिले खाने कुरालाई सन्तुलन गर्न नसके आहारविद् तथा पोषणविद्को सहायता लिन सकिन्छ ।
प्रकाशित मितिः २०७७ असार ३१ बुधबार