मारियो पसालिकको ह्याट्रिकको सहयोगमा एटलान्टा सिरि ए फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति ब्रेसियामाथि ६–२ को प्रभावशाली जित निकाल्दै एटलान्टाले लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
दोस्रो मिनेटमै उनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पाहुना टोली ब्रेसियाका अर्नेस्टो टोरेग्रोसाले खेल बराबरीमा ल्याए । मार्टन डी रुनले २५ औं मिनेटमा पुन एटलान्टालाई २–१ को अग्रता दिलाए । त्यसपछि घरेलु टोलीले लगातार चार गोल गर्यो ।
पसालिकले दुई तथा रुस्लान मालिनोवस्की र डुवन जपताले एक–एक गोल गरे । खेल सकिन ७ मिनेट बाँकी रहदाँ निकोलस स्पेलक्सले पाहुना टोलीकालागि दोस्रो गोल फर्काएका थिए ।
लिगको दोस्रो स्थानमा उक्लिएको एटलान्टाले ७० अंक जोडेको छ । उसले तेस्रो स्थानको ईन्टर मिलान र चौथो स्थानको लाजियोसंग २ अंकको अग्रता लिएको छ । रेलिगेशन जोनबाट बच्न संघर्षरत ब्रेसिया २१ अंक जोडेर तालिकाको पुछारदेखि दोस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार ३१ बुधबार
Comments