रहिम स्टर्लिङको ह्याट्रिकको सहयोगमा म्यान्चेष्टर सिटीले प्रिमियर लिग फुटबलमा शानदार जित निकालेको छ । शनिबार राति ब्राइटनको घरेलु मैदानमा सिटीले ५–० को फराकिलो जित आत्मसाथ गरेको हो ।
सिटीको एकतर्फी जितमा स्टर्लिङले ह्याट्रिक पुरा गरे । जितसंगै सिटीले यस सिजन दोस्रो स्थानमा रहदै प्रिमियर लिगको सिजन सक्ने निश्चित गर्यो ।
सिटीले पछिल्ला तीन अवे खेलमा हार ब्यहोरेको थियो । गत आईतबार मात्र सिटीले साउथह्याम्टनसंग हार ब्यहोरेको थियो ।
तर शनिबार रातिको खेलमा सिटीले एकतर्फी खेल पस्कियो । स्टर्लिङले यस सिजन सबै प्रतियोगितामा सिटीका लागि २७ गोल गरे ।
खेलको २१ औं मिनेटमा स्टर्लिङले सिटीलाई अग्रता दिलाएका थिए । ग्याब्रियल जिससको पासलाई सदुपयोग गर्दै उनले सिटीलाई अघि बढाएका थिए ।
जिससलेनै ४४ औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाए । स्टर्लिङले ५३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए । त्यसको तीन मिनेटपछि बर्नार्डो सिल्भाले सिटीलाई ४–० को स्थितीमा पुर्याएका थिए । स्टर्लिङले ८१ औं मिनेटमा ह्याट्रिक पुरा गरे ।
सिटीबिरुद्ध ब्राइटन निकै फिक्का देखिएको थियो । क्लबले खेलको दौरान एउटा समेत गतिलो प्रहार गर्न सकेन । सिटी ७२ अंक सहित लिगको दोस्रो स्थान सुनिश्चित गर्यो ।
लिगमा तीन चरणको खेल बाँकी रहदाँ सिटीले तेस्रो स्थानको चेल्सीसंग १२ अंकको अग्रता कायम गर्यो । ब्राइटन ३६ अंक सहित तालिकाको १५ औं स्थानमा छ । क्लबमाथि रेलिगेशनको डर यथावत छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २८ आइतबार
Comments