विभिन्न जिल्लामा पाँचजना मृत अवस्थामा भेटिए
काठमाडौं । विभिन्न जिल्लामा पाँचजना मृत अवस्थामा फेला परेका छन् । ललितपुर महानगरपालिका–६ सौगोल बस्ने ५५ वर्षीय राजेन्द्र श्रेष्ठ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
बारा, परवानीपुर गाउँपालिका–२ मुसरीटोलस्थित कृष्णलाल साहको धान खेतमा सोही ठाउँ बस्ने २८ वर्षीय राधेश्याम साह मृत अवस्थामा फेला परेका छन् ।
कास्की, मादी गाउँपालिका–११ मौरीखोला मुखिया खोरमा सोही गाउँपालिका–१० मकै खोला बस्ने १७ वर्षीया कोपिला परियार मृत अवस्थामा फेला परेकी छन् । २०/२२ दिन अघिदेखि हराएकी उनी मृत फेला परेकी हुन् ।
सुर्खेत, चौकुने गाउँपालिका–९ घाटगाँउस्थित भेरी नदीको किनारामा नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको शव फेला परेको छ । यस्तै रामेछाप, मन्थली नगरपालिका–६ स्थित सुनकोशी नदीको किनारमा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव फेला परेको छ ।
प्रकाशित मितिः २०७७ असार २६ शुक्रबार
