काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ । आइतबार राति भएको खेलमा इन्टर बोलोग्नासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर पराजित भएको हो । खेलको २२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा रोबर्टो सोरीअनोले रातो कार्ड पाउदा बोलोग्ना १० खेलाडीमा समेटियो ।
६२ औं मिनेटमा इन्टरका लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गर्न सकेनन् । खेलको ७४ औं मिनेटमा मुसा जुवाराले गोल गर्दै बोलोग्नालाई १-१ गोलको बराबरीमा ल्याए । ७७ औं मिनेटमा एलेसान्द्रो बास्टोनीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम पनि १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ८० औं मिनेटमा जुवाराले व्यक्तिगत दोस्रो गोल गर्दा बोलोग्ना २-१ ले विजयी भयो । घरेलु मैदानमा पराजित भएसँगै तेस्रो स्थानको इन्टरले ३० खेलमा ६४ अंक जोडेको छ । बोलोग्ना ४१ अंकसहित नवौं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २२ सोमबार
Comments