भ्रष्टाचारविरोधी आन्दोलन संस्मरण

भक्तपुर न्यूज

२० असार २०७७ ०:४९

भ्रष्टाचारविरोधी आन्दोलन संस्मरण

भक्तपुर । भ्रष्टाचारविरोधी आन्दोलन संस्मरण दिवसको अवसर पारेर नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका इकाइ समिति, भक्तपुरको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राज्यलाई ठग्नेहरुलाई भ्रष्टाचारीको संज्ञा दिनुहुँदै कर्मचारीहरु भनेको जनताको सेवकको रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

प्रमुख प्रजापतिले भ्रष्टाचार विरोधी दिवस औपचारिकतामा मात्र सिमित नगरिकन देश भक्ति नागरिकको रुपमा प्रमाणित गर्नु पर्ने बताए ।

पैसा कमाउने उद्देश्य हुनेहरुले भ्रष्टाचारलाई बढावा दिने बताउँदै प्रमुख प्रजापतिले कोभिड–१९ को जटिल परिस्थितिमा पनि जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त प्रयासले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको बताए ।

उनले भने, पूँजीवादी व्यवस्थामा जति पैसा कमाउन हिडेपनि सिमित व्यक्तिको हातमा सम्पत्ति हुने र तिनिहरु विश्वको धनि व्यक्ति भएर पनि देशलाई तिर्नु पर्ने कर समेत छलेको हुन्छ ।

उनले कर्मचारीहरु राष्ट्र सेवक हुन मालिक होइन, कर्मचारीहरु क्षमतावान, योग्य र सक्षम हुनुपर्ने भन्दै कार्यालय समय अतिरिक्त काम गरेको मात्रै राष्ट्रको लागि योगदान गरेको हुने बताए । उनले जनताले काम लिनु परे चिनजान हुनु पर्ने र पैसा खुवाउनु पर्ने कारणले बौद्धिक जनताहरु विदेश पलायन भएको बताउँदै विना भेदभाव नियमानुसार जनताको काम गर्नु पर्नेमा पूँजीवादी बन्दोबस्तको प्रणाली नै दोषि रहेको बताए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगर समितिका अध्यक्ष नारायण बहादुर दुवालले भ्रष्ट आचरण नै भ्रष्टाचार भएको र २०४६ साल पछि अहिलेसम्मका सरकारहरुले बढी भ्रष्टाचार भएको बताउँदै पूँजवादी सोच भएकाहरु कम्युनिष्ट भएपनि भ्रष्टाचार गर्ने बताए ।

उनले कर्मचारीहरुको नराम्रो बानी व्यहोरा र भ्रष्ट आचरणहरु छ भने सुधार गर्नुपर्ने बताउँदै व्यक्तिगत र पारिवारीक फाइदको निम्ति काम गर्ने सोचमा परिवर्तन ल्याउनु पर्ने बताए ।

कार्यक्रम नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतम लासिवाले भ्रष्टाचारीलाई कारवाही गरी देश स्वच्छ बनाउनु पर्नेमा जोड दिए । उनले संस्थागत हितको निम्ति कर्मचारीहरु सदैव लागि रहनुपर्ने नत्र नगरपालिका संस्था नै नरहे कर्मचारीहरु पनि नरहने बताए ।

कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिका सदस्य रामकृष्ण प्रजापतिले स्वागत मन्तव्य राख्दै पूँजीवादी व्यवस्थामा भ्रष्टाचार छायाँ जस्तै सँगसँगै आउने बताउँदै अहिले पनि देशमा ठूलै रुपमा भ्रष्टाचारहरु भईरहेको अवस्थामा भ्रष्टचार विरोधी आन्दोलन सार्न्दभिकता भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय