अन्य रोगबाट मृत्यु भएको स्पष्ट भएमा त्यसलाई कोरोनाबाट मृत्यु भएको मान्यता नदिइने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट मृत भएकाको शव व्यवस्थापन सम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।
संशोधित कार्यविधिअनुसार अब अन्य रोगबाट मृत्यु भएको स्पष्ट भएमा त्यसलाई कोरोनाबाट मृत्यु भएको मान्यता नदिइने जनाइएको छ ।
कार्यविधिमा भनिएको छ, ‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरूलाई भन्ने बुझ्नुपर्दछ। कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ । कोभिड १९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन ।’
यसैगरी मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्य अवस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ ।
मन्त्रालयले यही जेठ २० गते स्वीकृत ‘कोभिड–१९ केशको आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जारी गरेको हो ।
प्रकाशित मितिः २०७७ जेठ २२ बिहिबार