कोभिड-१९ विरुद्ध रेमडेसिभिरको क्लिनिकल परीक्षणका लागि बेलायतले दियो अनुमति

भक्तपुर न्यूज

१४ जेठ २०७७ ३:४७

कोभिड-१९ विरुद्ध रेमडेसिभिरको क्लिनिकल परीक्षणका लागि बेलायतले दियो अनुमति

काठमाडौं । बेलायतको स्वास्थ्य सेवा एनएचएसले कोभिड-१९ का बिरामीका लागि अमेरिकामा निर्मित औषधि रेमडेसिभिर उपलब्ध गराउन अनुमति दिएको छ।

बीबीसीका अनुसार बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले क्लिनिकल परीक्षणका लागि त्यस्तो अनुमति दिइएको बताएका छन्। उनका अनुसार सीमित अस्पतालले मात्र बिरामीमा यसको प्रयोग गर्न सक्ने छन्।

स्वास्थ्य विज्ञहरूले भने उक्त औषधि कोभिड-१९ का बिरामीका लागि उपयुक्त नभएको यसअघि नै बताइसकेका छन्। अमेरिकी कम्पनी गिलिड साइन्सेजले उत्पादन गर्दै आएको औषधि हो, रेमडेसिभिर। इबोला रोगको उपचारका लागि यसको प्रयोग हुने गरेको छ।

अमेरिकामा भएको एक अध्ययनमा भने यसले कोभिड-१९ का गम्भीर बिरामीको ‘रिकभरी’ समय कम गर्न मद्दत पुर्‍याएको पाइएको थियो।

अमेरिका, जापानलगायत मुलुकले यसअघि नै यसको क्लिनिकल परीक्षण शुरु गरिसकेका छन्। हालसम्मको परीक्षणमा बिरामीको ‘रिकभरी’ समय चार दिनसम्म कम गरेको देखिएको छ।

विज्ञहरूका अनुसार रेमडेसिभिरले मानव शरीरको त्यस एन्जाइम माथि आक्रमण गर्छ, जसले भाइरसलाई शरीरमा फैलिन मद्दत गर्छ।तर, यो कोभिड-१९ का बिरामीको उपचारमा उपयुक्त रहेको निष्कर्ष निस्किएको छैन।

बेलायती इन्‍नोभेसन मन्त्री लर्ड बेथेलले वैज्ञानिकहरूसँग सल्लाहपछि नै रेमडेसिभिरको क्लिनिकल परीक्षण थाल्ने निर्णय गरिएको बताए। एजेन्सी

प्रकाशित मितिः २०७७ जेठ १४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *