जगाती चौकीकै आसपास खुलेआम यौनधन्दा
भक्तपुर, १६ मंसिर । काठमाडौबाट भक्तपुरको ६ लेन सडक सकिएपछि आदर्श र जगाती प्रवेश हुन्छ । जगातीमा महानगरी प्रहरी वृत्त प्रहरीको कार्यालय खडा गरिएको छ, जुन वृत्त डिएपीको कमाण्डमा सञ्चालनमा हुने गरेको छ । तर यही क्षेत्रमा यौन पेशामा संलग्न महिलाहरुको पैसामा मोलमोलाई हुने गरेको छ । जगाती वृत्त आसपासका गेष्टहाउस तथा रेष्टुरेन्टमा खुलेआम यौनधन्दा सञ्चालन हुँदा पनि प्रहरी भने मुकदर्शक बनेको स्थानीयहरुको गुनासो छ ।
यता महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी मित्रबन्धु शर्मा भने बेलाबेलामा त्यस्ता अनैतिक कार्य गर्ने गेष्ट हाउस र रेष्टुरामा छापा मारिरहेको छ ।
प्रहरीले आफ्नो सक्रियता देखाएता पनि छापा मारेको भोलि पल्टबाट गेष्ट हाउस र रेष्टुरा पुनः सञ्चालनमा आउने गरेका स्थानीयहरु बताउँछन् । उनीहरु भन्छन्, देखावटी रुपमा मात्र छापा मारिने भएकाले यस्ता क्रियाकलापमा नियन्त्रण आएको छैनन् ।
केहि समय अगाडि जगातीको वृत्तसँगै जोडिएको एक रेष्टुरेन्टमा छापा मारि ११ यौनकर्मीलाई जगाती प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस्तै, राजमार्ग आसपासमा सञ्चालनमा रहेका विभिन्न रेष्टुरामा छापा मारी यौनकर्मी नियन्त्रणमा लिएको डिएसपी शर्माले बताए । तर गेष्ट हाउस र रेष्टुरा आसपासका स्थानीय भने छापा मार्ने प्रक्रियाले निरन्तरता नपाए कै कारण प्रहरी समेत आर्थिक प्रलोभनमा फसेको शंका व्यक्त गर्छन् ।
जगाती वृत्त आसपास मात्र नभई भक्तपुरका अधिकांश त्यस्ता गेष्ट हाउस र रेष्टुरामा अनैतिक रुपमा गैरकानुनी यौनधन्दा मौलाउँदै गएको छ । राजमार्ग आसपास खुलेका गेष्टहाउस तथा रेष्टुराँमा सबैभन्दा बढी खुलेआम यौनधन्दा मौलाउन थालेको यस क्षेत्रका जानकारहरु बताउँछन् । यौनधन्दा नियन्त्रणमा सरकारको कमजोर उपस्थितिले गर्दा पछिल्लो समय यौन व्यवसायले मौलाउने मौका पाएको छ ।
कतिपय रेष्टुरामा कलिला उमेरका बालिका राखेर समेत यौनधन्दा चलाइने गरिएको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय बताउँछन् । सरकारबाट गेष्ट हाउस र रेष्टुरा भनेर दर्ता भएपनि अधिकांश राजमार्ग आसपासका गेष्ट हाउस र रेष्टुरामा हरेक दिन पैसामा यौन व्यवसाय फैलिँदै उनी बताउँछन् । त्यस्ता गेष्ट हाउस र रेष्टुराहरुमा यौन व्यवसाय र मादर्क पदार्थबाहेक अरु केहि नपाइने एक रेष्टुरेण्टमा भेटिएका एक ग्राहक बताउँछन् ।
स्रोतका अनुसार राजमार्ग आसपासमा दर्जनौ त्यस्ता गेष्ट हाउस तथा रेष्टुरेन्ट सञ्चालमा छन् । प्रायःजसो गेष्ट हाउस र रेष्टुरामा न्युनतम पाँच जना यौनकर्मी राख्ने गरिएको पाइएको छ । यस्ता यौनकर्मीलाई यौन सम्र्पक राखेवापत कम्तिमा १ हजार र छानीछानी उनीहरुको मोलमोलाई हुने गर्दा पनि सम्बन्धीत निकाय बेखवर भएर बसेको छ ।
यसरी यौन व्यवसाय सञ्चालन गरिरहेका गेष्ट हाउस र रेष्टुराका कारण यस क्षेत्रमा खुलेका पारिवारिक गेष्ट हाउस र रेष्टुराको व्यवसायलाई समेत उस्तै नजरले हेर्ने गरिएको एक गेष्ट हाउस र रेष्टुराका मालिक गुनासो पोख्छन् । उनी भन्छन्, गलत गरिएकोलाई कारवाही गरियोस् र काम गरि खानेलाई उचित वातावरणको सिर्जना सरोकारवाला निकायले व्यवस्थापन गरि दिओस् ।