उपत्यका नछाड्न सर्वसाधारणसँग मेयरहरुको आग्रह
काठमाडौँ । लकडाउनका बाबजुद पनि नागरिक हिँडेरै गाउँ फर्किन थालेका समाचार निरन्तर आउन थालेपछि उपत्यका नगरपालिका फोरम, काठमाडौँले उपत्यका नछाड्न आग्रह गरेको छ।
उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप–प्रमुखहरु संलग्न नगरपालिका फोरमलेले शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठी र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँगको छलफल गर्दै उपत्यका नछाड्न आग्रह गरेका हुन्।
‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन जारी राखेको छ। हामी यो लकडाउनको पूर्ण समर्थन गर्दछौँँ,’ नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘लकडाउनका बेला एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान समेत प्रतिवन्ध गरेको अवस्थामा तपाईँहरु जो जहाँ रहनु भएको छ, त्यहि सुरक्षित बस्नुहोला।’
नगरपालिका फोरमले कतै भोकै परेको जानकारी भए टोल फ्री न ११८० र ११३१ मा जानकारी दिन आग्रह गरेको छ। मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन्।
‘यस्तो प्रतिकुल अवस्थामा पनि काठमाडौँ उपत्यका छाडि सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई रासन वितरण तथा अन्य प्रयास गरिरहेका छन् उपत्यकामा रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरण गरेको विदितै छ।’
प्रकाशित मितिः २०७६ बैशाख ५ शुक्रबार
