दुईजना कोभिड-१९ का बिरामी केही दिनमै डिस्चार्ज हुँदै

भक्तपुर न्यूज

२९ चैत २०७६ ७:४१

दुईजना कोभिड-१९ का बिरामी केही दिनमै डिस्चार्ज हुँदै

काठमाडौं। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका कोभिड १९ का दुईजना बिरामी स्वास्थ्यमा सुधार आएकोले केही दिनमै डिस्चार्ज हुने अस्पतालले जनाएको छ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक स्वास्थ्य परीक्षण पूरा गरेपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले बताए।

उनले भने, “अस्पतालमा उपचारको क्रममा रहेका कोभिड सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ ।”

अस्पतालमा अहिले कोभिड १९ पोजेटिभ दुईजनासहित शंकास्पद सात गरी कूल नौ जनाको उपचार भइरहेको छ। निर्देशक डा राजभण्डारीले अस्पतालमा जनशक्ति तथा उपकरणको कमी नभएको बताएका छन्।

“अस्पतालमा अहिले पहिलाभन्दा बिरामीको चाप कम छ। क्षयरोगलगायत अन्य सरुवा रोगका बिरामीलाई अन्यत्रै सिफारिस गरिएको हुनाले कोभिडको उपचारमा सहजता आएको छ”, उनले भने।

नेपालमा हालसम्म नौ जनामा कोभिड १९ देखिएको छ। एक जना उपचारपछि घर फर्किसकेका छन् । नेपालमा दोस्रोपटक १० चैतमा कोभिडको दोस्रो बिरामी फेला परेको थियो। ४ चैतमा कतार एअरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड १९ पोजेटिभ देखिएको थियो।

त्यस्तै १२ चैतमा धादिङका एकजना पुरुषमामा कोभिड पोजेटिभ देखिएको थियो । उनीहरू दुईजनाको टेकु अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै धौलागिरी अस्पतालमा दुई र सेती प्रादेशिक अस्पतालमा चारजना कोभिड १९ का बिरामी उपचाररत् छन्।

प्रकाशित मितिः २०७६ चैत्र २९ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *