राजकुमार आइसीयूमा : राजपरिवारका करिव १ सय ५० सदस्यलाई कोरोना भाइरसको संक्रमण
काठमाडौं । साउदी अरबका राजपरिवारलाई कोरोना भाइरस रोगको संक्रमण भएको छ । ७० वर्षका राजकुमार फैसल बिन बन्दर बीन अब्दुलाजीज अल साउदलाई संक्रमणको पुष्टि भएपछि आइसीयूमा उपचार भइरहेको छ । दि न्यूयोर्क टाइम्सका अनुसार राजपरिवारका करिव १ सय ५० सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरिएको छ ।
राजा सलमान र मोहम्मद बिन सलमान दुवै आईसोलेसनमा रहनुभएको छ । ८४ वर्षका राजा सलमान जेदाहस्थित एक टापुमा रहेको दरबारमा रहनुभएको छ भने युवराज मोहम्मद बिन सलमान ग्रामीण क्षेत्रमा बसिरहनु भएको छ ।
रियादस्थित इलाइट किङ फैजल अस्पतालका चिकित्सकले राजपरिवारलाई ५ सय शैय्या तयार गर्न लगाएका छन् । देशभर रहेका भिआईपीका लागि ती शैय्याको माग गरिएको हो । चिकित्सकलाई उच्च सतर्कता अपनाएर बस्न निर्देशन दिइएको छ । अस्पतालले अति आकस्मिक विरामीलाई मात्र उपचारका लागि लिने जनाएको छ ।
साउदी राजपरिवारमा १५ हजार सदस्य छन् । राजकुमारहरु धेरै छन् । उहाँहरु नियमित युरोप गइरहने भएकाले संक्रमण युरोपबाटै भएको हुनसक्ने आशंका गरिएको छ । ३ करोड ३० लाख जनसंख्या रहेको साउदी अरबमा कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु भइसकेको छ भने २ हजार ७ सय ९५ जना संक्रमित भएका छन् ।
प्रकाशित मितिः २०७६ चैत्र २८ शुक्रबार
