नेपालीहरु पनि सहभागी भएको निजामुद्दिन मरकज मस्जिदमा कोरोना भाइरसको संक्रमण

भक्तपुर न्यूज

१९ चैत २०७६ ६:५६

नेपालीहरु पनि सहभागी भएको  निजामुद्दिन मरकज मस्जिदमा कोरोना भाइरसको संक्रमण

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मरकज मस्जिदमा भएको धार्मिकसभामा केही नेपालीहरु पनि सहभागी भएको स्थानमा कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गरिएको छ।

बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकजमा हुने धार्मिकसभामा दैनिक हजार भन्दा बढी श्रद्धालु सहभागी हुने गरेको बताइन्छ।

चैत ८ गते भएको धार्मिकसभामा सहभागी मध्ये २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अरु दुई सयजना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यसदिनको धार्मिकसभामा भारतीयसँगै दुई सयभन्दा बढी विदेशी नागरिक पनि थिए। त्यसमा १९ जना नेपाली पनि रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।

भारतीय प्रहरीले सो सभामा सहभागीको खोजी गरिरहेको छ। यस्तै नेपालीहरुको पनि पहिचान गरी क्वारेन्टाइनमा राख्ने तयारी भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गरेका छन्, ‘नेपाली राजदूतावासले समन्वय गरिरहेको छ। केहीको नमूना परीक्षण भएको छ, केहीलाई सायद अस्पताल सेवा जरूरी हुनेछ।’

मानिसहरु भेला हुन नपाउने सरकारको निर्देशनको अवज्ञा गर्दै गरिएको उक्त सभाबिरुद्ध भारतमा मुद्दा दायर पनि गरिएको छ।

प्रकाशित मितिः२०७६ चैत्र १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय