काठमाडौ । प्राणघातक रोग कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन हिजोमात्र ७५६ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ७७९ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
सोमबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ । यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रही आएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु ९७ हजार ६८९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।
यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाख ४२ हजार १७८ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या ६ हजार ८०३ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८० हजार ११० पुगेका छन् । यहाँ १४ हजार ७०९ नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ ।
संयुक्त राज्य अमेरिकामा २ हजार ४८४ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभर ७ लाख २३ हजार ३१९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३३ हजार ९९३ नागरिकको ज्यान गएको छ ।
सोमबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये १ लाख ५१ हजार ७६६ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि, इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । एजेन्सी
प्रकाशित मितिः२०७६ चैत्र १७ सोमबार
Comments