कोरोनाको असर : दादुरा रुवेला खोप अभियान स्थगित

भक्तपुर न्यूज

१० चैत २०७६ १०:०१

कोरोनाको असर : दादुरा रुवेला खोप अभियान स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय दादुरा रुवेला खोप अभियान स्थगित गरेको छ । सरकारले फागुनदेखि चैत महिनासम्म राष्ट्रिय दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको थियो ।

तर, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका जनशक्ति परिचालन गर्नुपर्ने देखिएपछि खोज अभियान बन्द गर्नु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल दादुरा रुवेला खोप अभियान सञ्चालन शुरुवात नभएका पालिका, वडा र स्वास्थ्य संस्थाहरुको खोप अभियान चैत मसान्तसम्मको लागि स्थगन गरिने जनाएको छ ।

यस्तै, हाल अभियान सञ्चालन भइरहेका पालिका, वडा र स्वास्थ्य संस्थाहरुले पूर्वयोजना अनुसार अभियान सम्पन्न गर्ने, तर यसरी खोप सेवा सञ्चालन गर्दा भिडभाड हुन नदिने व्यवस्था गरी सतर्कता अपनाउने जनाइएको छ ।

खोप अभियान स्थगित भएको अवस्थामा खोप तथा कोल्डचेन सामग्रीहरु सम्बन्धित जिल्लाले सुरक्षित रुपमा भण्डारण गर्ने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः २०७६ चैत्र १० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *