अंगिकृत नागरिकलाई उच्च पद सरकारी प्रपोगण्डा
१३ मंसिर, नेपालगञ्ज । तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले अंगिकृत नागरिकलाई उच्च पद सरकारी प्रपोगण्डा भएको बताएका छन् । अवधी पत्रकार संघले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चाका नेता ठाकुरले भने, ‘यो मधेसीको माग होइन, हिजो पहिलो संविधानसभाले नागरिकताको विषयमा जुन सहमति जुटाएको थियो हामी त्यसैलाई लागू गर्नुपर्ने हाम्रो माग हो ।
सरकारले संविधान संशोधनको आधिकाररिक मस्यौदा मोर्चालाई उपलब्ध नगराएको उनको गुनासो छ । तमलोपा अध्यक्ष ठाकुरले भने, ‘सरकारले संविधान संशोधनको लागि तयार पारेको ड्राफ्ट कस्तो छ हामीलाई पठाएको छैन । भर्खर मैले पार्टी अफिसमा फोन गरेर बुझेको थिएँ, त्यस्तो केही आएको छैन । संशोधन प्रस्ताव नहेरी टिप्पणी नगर्ने उनले बताए । तर, संशोधन विधेयक दर्ताका लागि मागेको समय आज सकिने भएकोले सरकारले के गर्छ हेरेर बसेको उनले बताए ।
एमालेले जहिले पनि मधेसी र मधेसप्रति रुखो टिप्पणी गर्ने गरेको उनको आरोव छ । ठाकुरले संविधान संशोधनमा एमालेले अवरोध पुर्याउन सक्ने भए तर रोक्न नसक्ने दावी गरे । ठाकुरले मधेसी मोर्चाको माग नै सम्बोधन नहुने संशोधन प्रस्ताव ल्याएमा विद्रोह गर्ने चेतावनी दिए । उनले भने भने, ‘हामीले सरकारलाई आफ्नो मागका बारेमा प्रस्ष्ट रुपमा भनि सकेका छौं, तर सरकारले एक हातमा बन्दुक र अर्को हातमा संशोधनको प्रस्ताव लिएर आयो भने कुनै पनि हालतमा मानिने छैन । डटेर सामना गर्छौं ।’
उनले संविधान संशोधन नभएसम्म कुनै हालतमा चुनाव गर्न नदिने समेत बताएका छन् । उनले भने, ‘मधेसी मार्चाको सहमति विनाको संविधान संशोधन र त्यसपछि हुने निर्वाचनमा हामी भाग पनि लिँदैनौं र निर्वाचन हुन पनि दिँदैनौं ।