काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी महिनामा आयोजना गर्ने भनिएको राष्ट्रिय लिग फुटबल अनिश्चित बनेको छ ।
सहिद स्मारक ए डिभिजन लिग सक्किएसँगै एन्फाले राष्ट्रिय लिग गर्ने तयारी गरेको थियो । तर, विश्वभर फैलिएको कोराना भाईरस (कोभिड-१९) को कारण एन्फाले राष्ट्रिय लिगलाई समेत होल्डमा राखेको छ ।
अहिले कोरानोका कारण हामीले खेलाउने सबै प्रतियोगिता होल्डमा राखेका छौं । राष्ट्रिय लिग पनि अहिले होल्डमै रहेको छ, एन्फाका प्रवक्ता किरण राईले भने ।
एन्फाले बैशाखमा राष्ट्रिय लिग गराउने गृहकार्य गरेको थियो ।
तर, कोरोनालाई मध्येनजर गर्दै खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत खेलकुद संघलाई कुनै पनि खेलकुदका गतिबिधि आयोजना नगर्न आग्रह गरेको थियो ।
एन्फाले समेत हाल आफ्नो जिल्लाहरुलाई मोफसल प्रतियोगिता आयोजना नगर्न आग्रह गरेको थियो ।
तर, एन्फाले चलिरहेको सहिद स्मारक बी डिभिजन लिग भने स्थगित गरेको छैन । यद्यपि उसले कोराना कोरोनाको संक्रमण बढे यसलाई समेत रोक्ने बताएको छ ।
यस्तै एन्फाले चैतमा तय भएको महिला लिग र सी डिभिजन लिगलाई समेत होल्डमा राखेको छ ।
एन्फाले राष्ट्रिय लिग संचालनको लागि एन्फा केन्द्रिय उपाध्यक्ष वीर बहादुर खड्काको संयोजकत्वमा समित गठन गर्ने भएको छ ।
एन्फाले राष्ट्रिय लिग होम एण्ड अवेु का आधारमा खेलाउने तयारी गर्दै गर्दा यस प्रतियोगिता हुने या नहुनेमा नै अनिश्चितता बढेको हो ।
हामीले होम एण्ड अवको आधारमा लिग आयोजना गर्ने तयारी गरेको छौं । तर, कोरोनको कारण सबै काम होल्डमानै रहेको छ, प्रवक्ता राईले थपे ।
सहिद स्मारक ए डिभिजनको शीर्ष ६ क्लब र एन्फा प्रेसिडेन्ट कपु का शीर्ष ४ क्लब गरि जम्मा १० टिमले राष्ट्रिय लिगमा सहभागीता जनाउने छन् ।
एन्फा प्रेसिडेन्ट कपु भने सात प्रदेशका च्याम्पियनबीच आयोजना हुनेछ । हाल प्रदेश च्याम्पियनको समेत टुंगो लागेको छैन ।
सहिद स्मारक ए डिभिजन च्याम्पियन मछिन्द्र, उपविजेता त्रिभुवन आर्मी, तेस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब, चौथो स्थानको थ्री स्टार, पाँचौं स्थानको नेपाल पुलिस र छैठौं स्थानको जावलाखेलले राष्ट्रिय लिग खेल्न पाउने छन् ।
राष्ट्रिय लिगकै लागि भनेर हाल क्लबहरुले समेत खेलाडी अनुबधन गर्ने तयारी गरिसकेको छ । मनाङले यसै महिना मात्रै आफ्ना पूर्व विदेशी स्ट्राइकर आफिज ओलावालेलाई टिममा भित्राएको छ ।
एन्फाले ७ वर्षपछि राष्ट्रिय लिग आयोजना गर्न लागेको हो । यस अघि गणेश थापाको कार्यकालमा एन्फाले विक्रम संम्बत २०७२ सालमा राष्ट्रिय लिग आयोजना गरेको थियो । जुन समय थ्री स्टार क्लब च्याम्पियन बनेको थियो ।
प्रकाशित मितिः २०७६ फागुन २९ बिहीबार
Comments