इराकमा ट्रक बम आक्रमणमा परि ७७ को मृत्यु
एजेन्सी, १० मंसिर । इराकको राजधानी बग्दाद नजिक भएको ट्रक बम आक्रमणमा परि ७७ जनाको मृत्यु भएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् । विस्फोटनमा परि मृत्यु हुनेमा धेरै शिया तिर्थयात्री रहेको सरकारी अधिकारीले बताएका छन् ।
राजधानी बग्दादबाट एक सय किलोमिटर दक्षिण अल हिलामा रहेको पेट्रोल पम्प र रेस्टुरेन्टको बिचमा विस्फोट भएको हो । कर्बला शहरमा इमाम हुसैनको निधन भएको ४० औं दिनको कर्ममा सहभागी भएर फर्किएका तिर्थायात्रीलाई लक्षित गरी आक्रमण भएको हो । मृत्यु हुनेमा धेरै इरानका तिर्थयात्री रहेको अधिकारीहरुले बताएका छन् ।
विस्फोटको जिम्मेवारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको छ । आइएसका समाचार संस्था अमाकले भने विस्फोटमा दुई सय भन्दा धेरैको मृत्यु भएको दाबी गरेको छ । तिर्थयात्री चढेका चारवटा बस कर्बलाबाट ८० किलोमिटर दक्षिण पूर्वमा रहेको शोमाली गाउँमा रहेको पेट्रोल पम्पमा तेल हाल्न रोकिएका बेला विस्फोट भएको हो ।