सेनाको कारबाहीमा परी १ सय ५० को मृत्यु
एजेन्सी, ९ मंसिर । नाइजरियामा सन् २०१५ पछि भएको प्रदर्शनका क्रममा सेनाले गरेको कारबाहीमा परी १ सय ५० जना प्रदर्शनकारीको मृत्यु भएको मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले दाबी गरेको छ । शान्तिपूर्ण प्रदर्शनका क्रममा सेनाले बल प्रयोग गर्दा उनीहरुको मृत्यु भएको एमनेस्टीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । बियफ्रा नामक समूहले नाइजेरियाबाट स्वतन्त्रताको माग गर्दै गत अगस्टदेखि थालेको प्रदर्शनका क्रममा सेनाले गोला बारुद प्रयोग गरेको दाबी एमनेस्टीको छ ।
तथ्यांक सार्वजनिक गर्नुपूर्व सो संस्थाले २ सय जना सर्वसाधारणसँग जानकारी लिएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् । त्यसैगरी एमनेस्टीले एक सयभन्दा बढी फोटो र ८७ वटा भिडियोको अध्ययन गरी तथ्यांक तयार पारेको जनाएको छ ।
यद्यपी सेनाले भने एमनेस्टीको प्रतिवेदनप्रति आपत्ति प्रकट गरेको विविसीले जनाएको छ । शान्तिपूर्ण प्रदर्शन दबाउन कुनै बल प्रयोग नगरेको सेनाको दाबी छ ।