काठमाडौं । पछिल्लो समय विश्वमा महामारीका रुपमा देखिएको कोरोना भाइरसले क्षेत्रलाई पनि प्रभाव पारेकाे छ । अहिलेसम्म कुनै पनि खेलाडी वा खेल पदाधिकारीलाई यसकाे संक्रमणको भएकाे औपचारिक जानकारी नआए पनि घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता भने प्रभावित भएको छ ।
यसका कारण नेपालमै हुने भनिएको फोर नेशन्स कप फुटबल प्रतियोगिता स्थागित भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजना हुने भनिएको प्रतियोगिता फागुन १५ गते हुने तय थियो । तर,सहभागी राष्ट्रहरु अफगानिस्तान, पाकिस्तान र माैरिससले सम्भावित खतरालाई मध्यनजर गर्दै सहभागिता जनाउन नसक्ने बताएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।
यसको प्रभाव क्रिकेटमा पनि देखिएकाे छ । आउँदो १७ गतेदेखि थाइल्याण्डमा आयोजना हुने एसीसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी प्रतियोगिताबाट चीन, म्यानमार र भुटानले सहभागिता फिर्ता लिएका छन् । चीनले कोरोना भाइरसका कारण सहभागिता फिर्ता लिएको स्पष्ट पारिसकेको छ । जसका कारण प्रतियोगितामा नेपाल र आयोजकसहित पाँच टिमकोमात्र प्रतिष्पर्धा रहने भएको छ ।
चीनमा खेलाडीले सहभागिता जनाउन अस्वीकार गरेपछि टोकियो ओलम्पिकको छनोटसमेत प्रभावित भएको छ । यस्तै टोकियो ओलम्पिकका लागि महिला छनोट प्रतियोगिता पनि अष्ट्रेलियाको सिड्नीमा सारिएको छ ।
वुहानका कुनै पनि खेलाडीलाई टिममा समावेश गरिएको छैन । चीनमा खेलकुदका अन्य गतिविधिहरु पनि प्रभावित भएका छन् । चाइनिज सुपर कप, एएफसी च्याम्पियन्स लिग स्थगित भएका छन् । चाइनिज सरकारले अप्रिलअघि हुने सबै प्रतियोगिताहरु स्थगित गर्नका लागि सुचना जारी गरिसकेको छ । चीनमा हुने फर्मुला वानको मुख्य इभेन्ट चाइनिज ग्राँ प्रि पनि स्थगित गरिएको छ ।
यसको प्रभाव चीनमा मात्र नभइ जापानमा पनि देखिएको छ । टोकियो म्याराथन प्रभावित हुने भएको छ । यसअघि करिब ३८ हजार धावक धाविकाको सहभागिता रहने अपेक्षा गरिएको टोकियो म्याराथनमा अब व्यावसायिक खेलाडीलाई मात्र सहभागिता गराउन लागिएको छ ।
टोकियोमा पाँच महिनापछि ओलम्पिक आयोजना हुँदैछ । संक्रमण नरोकिए कोरोना भाइरसका कारण ओलम्पिक पनि स्थगित हुन सक्ने बताइएको छ ।
प्रकाशित मितिः २०७६ फागुन ७ बुधबार
Comments