कोरोना भाइरसको विश्वभर डर

भक्तपुर न्यूज

५ फागुन २०७६ ११:५१

कोरोना भाइरसको विश्वभर  डर

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसको डर यतिबेला विश्वभर छ । नेपालमा एक जनाको संक्रमण पुष्टि भएकाले डर बढ्दो छ । उनी ठीक भएर घर फर्किसकेको सरकारको भनाइ छ ।

तर कोरोना भाइरसको डर नेपालमा उत्तिकै छ । सोही कारण काठमाडौंमा मास्क लगाएर हिँड्नेको संख्या निकै बढेको छ । सचेत हुनु राम्रो हो तर धेरैलाई थाहा नहुन सक्छ । सबै मास्क प्रभावकारी हुन्नन् ।

सामान्यतया नेपाली बजारमा अहिले तीनथरी मास्क पाइन्छ। एन नाइण्टी फाइभ मास्क । सर्जिकल मास्क र कपडाको मास्क ।

यीमध्ये एन नाइण्टी फाइभ मास्क’ले एक हदसम्म भाइरसबाट बचाउने विभिन्न अनुसन्धानले देखाएको छ । तर यो मास्क लगाउँदैमा पूर्ण रुपमा सुरक्षित भने भइँदैन ।

मास्कहरुले वायुजनित भाइरसविरुद्ध पूर्ण सुरक्षा प्रदान गर्दैनन् भनेर न्यू साइन्टिस्ट डटकमले लेखेको छ । मास्कले पूर्ण रूपमा नाक र मुख बन्द नगर्ने भएकाले वायुबाट भाइरसका कणहरू भित्र पस्न सक्छन् ।

धेरै साना कणहरू मास्कबाट पार गर्न सक्छन् । मास्क लगाए पनि आँखाको माध्यमबाट भाइरसहरु स्थानान्तरण हुने डर हुन्छ । न्यूज साइन्टिस्टले लेखेको छ, ‘तर यस्ता माक्स लगाउँदा ९० प्रतिशत सुरक्षित हुने सम्भावना भने रहन्छ ।’

सिंगापुरका संक्रामक रोग विशेषज्ञले सर्वसाधाणलाई ‘एन नाइन्टी फाइभ मास्क’ भन्दा सामान्य सर्जिकल मास्क उपयुक्त हुने सल्लाह दिएको छ । सर्जिकल मास्कले भाइरसको फैलावट कम गर्न मद्दत गर्छ र आम मानिसको पहुँचमा हुन्छ । यसले ठूला कणका थोपाहरु र ‘स्प्लिटर’लाई लगाउने व्यक्तिको मुख र नाकमा पुग्न रोक्न मद्दत गर्छ ।

सिगांपुरको स्टेट टाइम्सले संक्रामक रोग विशेषज्ञलाई उधृत गर्दै ‘एन नाइन्टी फाइभ’ मास्क विशेष गरी चिकित्सकका लागि डिजाइन गरिएको बताएको छ ।

सर्वसाधारणलाई यस्तो माक्स लगाउँदा सास फेर्न गाह्रो हुने र फिटिङ गर्न समस्या हुने लेखेको छ । स्टेट टाइम्सले लेखेको छ, ‘एन नाइन्टी फाइभ मास्क होस् या सामान्य मास्क यो लगाएर तपाईं सुरक्षित महसुस गरिरहनुभएको छ भने भ्रममा हुनुहुन्छ । मास्क मात्रै भाइरसको ओखती होइन ।’

सरुवा रोग अस्पतालका चिकित्सक डा। शेरबहादुर पुन मास्क नलगाउनु भन्दा लगाउनु धेरै हदसम्म सुरक्षित हुने बताउँछन् । मास्क नलगाउनेभन्दा लगाउनेहरुलाई कमै मात्रामा भाइरसको संक्रमण हुने बताउँदै उनी भन्छन्, ‘सचेत भएर मास्क लगाउनु राम्रो हो, तर एकदम डराएर बजारमै मास्क अभाव हुने गरी खरिद गर्दा साँच्चिकै महामारी आयो भने मास्क नपाउने डर हुन्छ ।’

मास्क पाउन मुश्किल

समस्या परेपछि मात्रै समाधान खोज्ने हामो प्रवृत्ति कोरोना भाइरसको सन्दर्भमा पनि दोहोरिएको छ । चिकित्सकका अनुसार अन्य सिजनमा भन्दा यो सिजनमा मास्कको माग बढी हुन्छ । पछिल्लो समय मौसमी रूघाखोकीका बिरामी बढेकाले मास्कको आवश्यकता पर्छ । कथंकदाचित महामारीको प्रकोप आइलागे मास्क नभइ हुन्न ।

बजारमा मास्क पाइन छाड्यो, कोरोनाका नाममा कालोबजारी
विश्व स्वास्थ्य संगठनले भाइरस प्रतिरोधी मास्क भनेर ‘एन नाइण्टी फाइभ’ मास्कलाई प्रमाणित गरेको छ । तर, नेपाली बजारमा उक्त मास्क अभाव रहेको केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएसनका सदस्य दलबहादुर भण्डारी बताउँछन्।

उनका अनुसार अहिले ५० लाख भन्दा बढी एन नाइन्टी ५ मास्कको माग छ। तर, स्टकमा नभएकाले माग पूरा गर्न सकिएको छैन । तत्काल कतैबाट मगाउन पनि नसक्ने उनी बताउँछन् ।

भण्डारीका अनुसार डब्लुएचओले प्रमाणित गरेको मास्क जर्मनी र अमेरिकाबाट मगाइन्छ । त्यसैगरी सामान्य सर्जिकल मास्क चीनबाट ल्याइन्छ ।

उनले भने ‘अहिले सामान्य सर्जिकल मास्क पनि अभाव छ । पहिला भन्दा २ सय प्रतिशत माग बढे पनि माग धान्न सकेको छैन । घरेलु उत्पादनले मात्रै बजारको मागलाई धान्न सक्दैन ।’

प्रकाशित मितिः २०७६ फागुन ०५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *