काठमाडौं । लिगको ७४ औं खेलमा विभागीय पुलिस र ब्रिगेड ब्वाईज क्लब भिड्दैछन् । लिगको एघारौ चरणको चौथो खेलमा दुई टिम आमने सामने हुन लागेका हुन् ।
सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेल दिनको ३ बजे सुरु हुनेछ ।
लिगको शीर्ष ६ मा सुरक्षित पार्ने दाउमा रहेको पुलिस र रेलिगेशन क्षेत्रबाट सुरक्षित स्थानको खोजीमा रहेको ब्रिगेड ब्वाईज भिड्न लागेका हुन् ।
लिगमा तीन खेल खेल्न बाँकी रहेको अवस्थामा पुलिस पाँचौ र ब्रिगेड तेस्रो जितको खोजीमा छ ।
व्रिगेडलाई पराजित गरेमा पुलिसको शीर्ष ६ को यात्रा सहज हुनेछ ।
“आर्मीविरुद्धको खेलले खेलाडीमा मनोबल बढेको छ । सुपर सिक्सको यात्रालाई सहज पार्न तयार छौं ।” पुलिस क्लबका पुर्व खेलाडी समेत रहेका प्रशिक्षक अनन्त राज थापा भन्छन् ।
ब्रिगेडविरुद्ध पुलिसले आफ्नो डिफेन्डर प्रवेश कुँवरलाई गुमाउने छ । उनी दोहोरो पहेलो कार्डका कारण टिममा हुने छैनन् ।
यस्तै पुलिसले चोटका कारण रविन श्रेष्ठ र सुमन लामालाई गुमाउने छ । लिगमा सुमनले ४ गोल गरेका छन् ।
यता, ब्रिगेड पनि पुलिसलाई पराजित गर्दै रेलिगेशन क्षेत्रबाट टाढिन चाहन्छ । रेलिगेशन क्षेत्रबाट बच्न उसलाई जितको बिकल्प छैन ।
“रेलिगेशन क्षेत्रबाट टाढिन भएपनि पुलिसलाई जित्नुपर्ने छ । खेलाडी तयार छन् ।” ब्रिगेड व्बाईज क्लबका ब्यवस्थापक अर्विन गुरुङ भन्छन् ।
शुक्रबार पुलिसविरुद्ध ब्रिगेडले आफ्ना कप्तान अनिल गुरुङलाई गुमाउने छ । एनआरटीसँग पेनाल्टीमा चुकेका उनी दोहोरो पँहेलो कार्डका कारण टिम बाहिर हुनेछन् । ब्रिगेडले चारै जना विदेशी खेलाडीलाई मैदानमा प्रयोग गर्न पाउनेछ ।
पुलिसविरुद्धको जितले ब्रिगेड रेलिगेशनबाट मुक्त हुनेछ ।
प्रकाशित मितिः २०७६ माघ २४ शुक्रबार
Comments