निस्के कांग्रेस बरिष्ठ नेता पौडेल एक हप्ते तराईयात्रामा
काठमाडौं, २ मंसिर । संविधानमा तराई मधेशमा देखिएको असंतुष्टी सम्बोधन गर्नका लागि संविधान संशोधनको अन्तिम तयारी भइरहेका बेलामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल एकसाता लामो तराई यात्रामा निस्केका छन् ।
बरिष्ठ नेता पौडेलले आज बीरगञ्जबाट तराई यात्रा सुरु गरि बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको भ्रमण सकेर मंसिर ७ गते काठमाडौं फर्कने कार्यक्रम तय भएको पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए ।
नेपाल तरुण दलको सर्वसम्मत नयाँ नेतृत्व चयन गरेर पोखराबाट फर्केको भोलिपल्ट आज बरिष्ठ नेता तराई यात्रामा निस्केका हुन् ।
पौडेलले संविधान संसोधन के कस्ता बिषय समेटन आवश्यक छ भनेर तराईका बुद्धिजीवीहरुसंग समेत छलफल गर्ने बताइएको छ । पौडेलले कार्तिक दुई गते काठमाडौमा रहेका मधेशका बुद्धिजीवीहरुसंग छलफल गरेका थिए । ‘संविधान संसोधनका बारेमा तराई मधेशका जनतासंग साक्षात्कार गर्ने उद्देश्यले दुई नम्बर प्रदेशका सवै जिल्लामा जान लाग्नुभएको हो’ पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले भने ।
बरिष्ठ नेता पौडेल आज नेपाली कांग्रेस पर्साले आयोजना गरेको कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ ।
पर्सामा पौडेलले नेपाली कांग्रेसका नेता कार्यकर्तासंग छलफल गर्नुका साथै संविधान संशोधनमा समेट्नुपर्ने बिषयमा समेत छलफल गर्ने बताइएको छ । त्यसैगरि उनले भोलि बारामा नेपाली कांग्रेसका कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरि मंसिर ४ मा रौतहटमा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको भने मंसिर ५ गते सर्लाहीमा पनि आमसभालाई सम्बोधन गर्नुका साथै सो नेपाली कांग्रेसका कार्यकर्ता तथा बुद्धिजीवीहरुसंग छलफल गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै ६ गते पौडेलको महोत्तरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छ भने ७ गते धनुषामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट सकेर राजधानी फर्कने कार्यक्रम रहेको अधिकारीले बताए ।