अस्ट्रेलियामा १५ हजार वर्ग किलोमिटर क्षेत्र खाली गर्न आपतकालीन आदेश
काठमाडौं। अस्ट्रेलियाको भिक्टोरिया राज्यका अधिकारीहरूले इस्ट गिप्स्ल्याण्डको झन्डै १५ हजार वर्ग किलोमिटरको क्षेत्र तत्काल खाली गर्न आपतकालीन आदेश जारी गरेको छ। आपतकाल व्यवस्थापन आयुक्त एन्ड्रयु क्रिस्पले भिक्टोरियाको इतिहासकै सबैभन्दा ठूलो आगलागी भएको दिनअघि यस्तो आदेश जारी गरेका थिए। यससँगै मेलबर्नमा हुने महोत्सवको अन्तिम दुई दिनका कार्यक्रम पनि रद्द गरिएको छ।
इस्ट गिप्स्ल्याण्डमा ब्रुथेन, बुचान र बोनाङ्गका जङ्गली क्षेत्रमा तीनवटा ठुल्ठूला आगलागी भइरहेको छ। आगामी दिनमा तापक्रम बढ्ने, सुख्खापन बढ्ने र ठूलो हावा चल्ने अनुमानसँगै इस्ट गिप्स्ल्याण्डका बस्तीमा क्षति हुनसक्ने भन्दै तत्काल सो क्षेत्र तत्काल खाली गर्न आदेश दिइएको हो।
यससँगै प्रिन्सेस राजमार्ग पनि बन्द हुनसक्ने सम्भावना रहेको भिक्टोरियाको आपतकालीन सूचना प्रणालीले भिक-इमर्जेन्सीले जनाएको छ। नयाँ वर्ष मनाउनका लागि उक्त क्षेत्रमा धेरै आन्तरिक पर्यटक पुग्ने गर्छन्। तर यसपटक भने सो क्षेत्रलाई खालि गर्न लगाइएको हो।
भिक्टोरिया राज्यले ५५० अग्नि नियन्त्रक, ३०० अग्नि व्यवस्थापन स्वयंसेवक, ७० हेलिकप्टर र हवाइ दमकल तयारी अवस्थामा राखेको छ। तर, आगलागीको प्रकोपको अवस्थामा सो सङ्ख्या अपुग हुनाले उक्त क्षेत्र खाली गर्न लगाएको छ।एजेन्सी
प्रकाशित मितिः २०७६ पुस १३ आइतबार
