स्वास्थ्यमन्त्रीलाई दरबन्दी थपिदिन अछाम र डोटीका स्वास्थ्य कार्यालयको पत्र
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई जिल्ला स्वास्थ्य कार्यालयमा दरबन्दी थप गरी कर्मचारी अभाव पूर्ति गरिदिन डोटी र अछाम कार्यालयले पत्रचार गरेका छन्।
समायोजन र स्वास्थ्यको संरचनाका कारण स्वास्थ्य कार्यालयमा २ जना सुपरभाइजर र एक जना पहेनको मात्र दरबन्दी भएकाले महत्वपूर्ण कार्यालय संचालनमा समस्या भएकोले साविककै दरबन्दी स्वीकृत गरिदिन पत्राचार गरेका हुन्।
दुबै जिल्लाका स्वास्थ्य कार्यालयले एक जना खोप सुपरभाइजर, एक जना परिवार नियोजन सुपरभाइजर, एक जना पहेन, एक क्षय÷कुष्ठ सुपरभाइजर र दुई जना हेल्थ असिष्टेन्टको पद स्वीकृत गरि पदपूर्ति गरिदिन अनुरोधसहितको पत्र पठाएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयको हाल कायम भएको दरबन्दी संरचनाले खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, समुदायमा आधारित बालरोगको एकिकृत व्यवस्थापन, आपूर्ति व्यवस्थापन, पोषण, तालिम, कृष्ठरोग, क्षयरोग, एचआइभी, एड्स, महामारी तथा प्रकोपको व्यवस्थापन, स्वास्थय व्यवस्थापन, बीमा, अनुगमन तथा सुपरिवेक्षणलगायतका कार्यक्रम सञ्चालन गर्न कठिनाई भएको भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराइएको छ।
डोटीका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश मलाशी र अछामका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख झनकराज ढुंगानाले सामाजिक विकास मन्त्रालय धनगडि कैलाली र प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीलाई समेत बोर्धाथ पठाएका छन्।
प्रकाशित मितिः २०७६ पुस ८ मंगलबार