यसरी जोगाउन सकिन्छ जाडोमा ओठ
चिसो मौसममा धेरै मानिसमा देखिने समस्या हो–ओठ फुट्ने। चिसो हावाले गर्दा ओठ फुट्ने समस्या देखिन्छ। ओठ फुट्दा खाँदा पोल्ने र हाँस्दा दुख्ने समस्या हुन्छ। कसैकसैको त ओठ फुटेर मुखभर घाउ हुने समस्यासमेत देखिन्छ।
यो याममा हामी पानी कम पिउँछौँ। शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ मात्र हाेइन गाला, हात, खुट्टा फुट्न सक्छन्। जाडोको समय वा सुख्खा धुलो हुने मौसममा सबभन्दा बढी ओठ फुट्छ। बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थीहरूले कम तेल निकाल्छन् र फुटाइ शुरु हुन्छ।
ओठ फुट्नबाट जोगिने केही उपाय–
घरबाट बाहिर निस्कँदा मास्क लगाउने जाडो मौसममा घरबाहिर निस्कँदा सकेसम्म मास्क लागाएर निस्कनु पर्छ। मास्क लगाएर निस्कँदा चिसो हावा तथा धुलोबाट ओठ जोगाउन सकिन्छ। यसले गर्दा ओठ फुट्नबाट जोगाउँछ।
चिसोका कारण ओठ फुटेको छ भने वा चिसोबाट ओठ तथा अनुहार जोगाउन नियमित रूपमा नरिवलको तेल ओठ तथा अनुहारमा लगाउनु राम्रो हुन्छ। नरिवलको तेलले ओठ फुट्नबाट जोगाउने मात्र होइन, यसले छालामा चाहिने आवश्यक पोषक तत्त्वसमेत पूरा गर्छ।
नियमित रूपमा ओठमा ग्लिसिरिन लगाउँदा ओठ फुट्नबाट जोगाउनुका साथै ओठलाई नरम र आकर्षक बनाउँछ। यस्तै ओठ फुट्नबाट बच्नका लागि प्रशस्त मात्रामा पानी तथा झोलिलो प्रदार्थ सेवन गर्नु राम्रो हुन्छ। सकेसम्म दैनिक आठदेखि १० गिलास पानी पिउनु निकै राम्रो हुन्छ। यसले गर्दा ओठलाई मात्र होइन, शरीर सुक्खा हुनबाटसमेत बचाउँछ।
राति सुत्नुअघि ग्लिसिरिनमा कागती, गुलाब जल मिसाएर ओठमा लागाउनु राम्रो हुन्छ। दूध, घिउ, मखन तथा घिउकुमारी लगाउनाले पनि ओठ फुट्ने समस्या कम हुन्छ।
नियमित मह लगाउँदा ओठ फुट्दैन। याे समयमा पानी धेरै पिउनुपर्छ। दैनिक सुन्तला र बदाम सेवन गर्नाले पनि ओठ फुट्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।
लिपबाम दल्नुस्
समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ।
स्क्रब गर्नुस्
फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ। यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ। यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन।
नकोट्याउनुस्
ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन। नत्र घाउ लाग्न सक्छ।
बाममाथि लिपस्टिक लगाउनुस्
जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ। यसले ओठमा अतिरिक्त म्वइस्चराइजर उपलब्ध गराउँछ।
ओठ नचाट्नुस्
जाडोमा ओठ सुखा हुने भएकाले ओठ फुट्ने गर्छ। ओठको सुखापन हटाउन ओठमा जिब्रो घुमाउने धेरैको बानी हुन्छ। यस्तो गर्नु हुँदैन। यस्तो गर्नाले ओठ अझ बढी सुखा हुन्छ।
प्रकाशित मितिः २०७६ पौष ६ आइतबार