पाँचथरका तीन रिक्त पदमा मतदान हुँदै, भौतिक पूर्वाधारमन्त्री नेम्वाङले गरे मतदान
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ मा शनिबार बिहान मतदान गरेका छन् ।
रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ मा उपनिर्वाचन भएको हो । मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरे । मतदानपूर्व उनले जिल्लामा मतदानको अवस्थाबारे जानकारी लिएका थिए ।
मतदानपूर्व उहाँले वडाध्यक्ष पदका उम्मेदवारहरुलाई विजयको शुभकामना समेत दिए ।
तीन स्थानमा उपनिर्वाचन हुन लागेको पाँचथरमा शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको प्रमुख, फिदिम नगरपालिका–१ को वडाध्यक्ष र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
बिहान ७ बजेदेखि निर्धारित १७ वटै मतदानस्थलका ३१ वटै मतदान केन्द्रबाट मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए ।
निर्वाचनमा जिल्लाको कुनै पनि स्थानमा कुनै प्रकारको समस्या र अवरोध नरहेको प्रमुख जिल्ला अधिकारी वस्तीले बताए । निर्वाचनको सुरक्षाको लागि करीब एक हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । पाँचथरमा उपनिर्वाचन हुने तीन स्थानमा १५ हजार ८०० मतदाता रहेका छन् ।
प्रकाशित मितिः २०७६ मंसिर १४ शनिवार
