काठमाडौं । साउदी अरेबियाका युवराज क्राउन प्रिन्स मोहम्मद बिन सलमान एमबिएसले विश्व बजारमा तेलको मूल्य कल्पना गरे भन्दा धेरैले बढ्न सक्ने चेतावनी दिएका छन् । इरान विश्वका लागि खतरा रहेको र विश्व समुदाय इरानलाई रोक्नका लागि तत्काल सक्रिय नभएमा तेलको मूल्य अत्याधिक मात्रामा बढ्ने तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने बताएका हुन् ।
अमेरिकी टेलिभिजन नेटवर्क सिबिएसको ‘सिक्सटी मिनेट’ कार्यक्रमका लागि दिएको अन्तर्वार्ताको क्रममा साउदी युवराज एमबिएसले इरानका गतिविधि भड्काउ र खतरनाक रहेको तर आफू त्यसको समाधानका लागि सैन्य विकल्पको सट्टा राजनीतिक या कूटनीतिक समाधानकै पक्षमा रहेको बताएका छन् ।
साउदी अरेबियाको शासक एमबिएसले वासिङ्गटन पोस्टमा लेख्ने पत्रकार जमाल खाशोग्गीको हत्याको आदेश आफूले दिएको भन्ने आरोप अस्वीकार गरेका छन् । तर देशको नेताको हैसियतमा अन्ततः खाशोग्गीको हत्याको जिम्मेवार आफू हुने उनले बताएका छन् ।
पत्रकार खाशोग्गीको गएको वर्षको अक्टोबर २ मा टर्कीको स्थानबुल स्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो । सो घटना एमबिएसको निर्देशनमा भएको आरोप लाग्दै आएको छ। तर एमबिएसले अन्तर्वार्ताको क्रममा सो आरोप पुनः अस्वीकार गरेका हुन् ।
खाशोग्गीको हत्यापछि विश्वव्यापी रुपमा सुधारात्मक नेताका रुपमा स्थापित हुँदै गएको एमबिएसको छवीमा आँच आएको थियो । विश्व समुदायले उनको आलोचना गर्दै आएका थिए ।
तर सेप्टेम्बर १४ गएको भदौ २८ गते साउदी अरेबियाका सरकारी स्वामित्वमा रहेका दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन तथा क्रुज मिसाइल आक्रमण भएपछि अमेरिकासहितका देश साउदी अरेबियाको पक्षमा उभिएका छन् ।
साउदी अरेबियासँगै अमेरिका, बेलायत, जर्मनी, फ्रान्ससहितका देशले विश्व बजारमा ठूलो मात्रामा तेल आपूर्ति गर्ने साउदी प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको संलग्नता रहेको बताउँदै आएका छन् । इरानले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएको छ ।
इरानको साथ पाएको यमनमा संघर्षरत हुथी बिद्रोहीले आक्रमणको जिम्मेवारी लिएको छ । साउदी अरेबियासहितका देशले आक्रमण इरानबाटै भएको र इरानको यस्ता गतिविधि नियन्त्रण गरिनु पर्ने बताएको छ ।
अन्तर्वार्तामा क्राउन प्रिन्स एमबिएसले इरानलाई रोक्नका लागि विश्व समुदायले तत्काल ठोस प्रयास नगरेमा तेलको आपूर्ति विश्व बजारमा ठूलो मात्रामा कटौती हुने र त्यसले अर्थतन्त्रमा गम्भीर उथलपुथल आउने चेतावनी दिएका छन् । साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणपछि उत्पादनमा कमी आएको छ र मूल्य केही बढेको छ ।
क्राउन प्रिन्स एमबिएसले भनेका छन्, ‘विश्व समुदायले तत्काल इरानलाई रोक्न कडा र अत्यावश्यक कमद नचालेमा तेलको आपूर्तिमा अवरोध आउने छ र मूल्य कल्पना गर्नै नसक्ने गरी बढ्ने छ ।’
तेल प्रशोधन केन्द्रमा भएको आक्रमणपछि विश्व बजारमा तेलको आपूर्ति पाँच प्रतिशतले कमी आएको छ । साउदी अरेबिया र इरानबिच युद्धको अवस्था आएमा विश्व अर्थतन्त्र ध्वस्त हुने भएकाले आफ्नो जोड सैन्य नभई कूटनीतिक समाधानमा रहेको क्राउन प्रिन्स एमबिएसले उल्लेख गरेका छन्।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सहमतिको मार्ग प्रशस्त गर्नका लागि इरानका राष्ट्रपति हसन रुहानीसँग भेटवार्ता गर्नु पर्ने पनि बताएका छन् ।
प्रकाशित मितिः २०७६ असोज १३ सोमबार
Comments